विश्वशान्तिका लागि तिन दिनसम्म फुर्वा पूजा
हेटौंडा ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा आजबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । पुजाको शुभारम्भ हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो।
कार्यक्रममा प्रमुख महतले बुद्धको शान्तिको सन्देशबाट सबैले पाठ सिकेर सामाजिक हितमा लाग्नु पर्नेमा जोड दिंदै गुम्बाको भौतिक संरचना निर्माणको लागि उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष डोल्मा स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रम उपमहानगरका जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, बौद्ध धर्मलम्बीहरु सहभागी थिए ।
यसअघि बिहान धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेको सहभागितामा सिमा चोक, बुद्धचोक, कान्तिराजपथ हुँदै गुम्बासम्म शान्ति र्याली गरिएको थियो ।
भारतको देराहदुनबाट आउनु भएका धर्मगुरु ज्ञानबज्र रेम्पोछेको नेतृत्वमा तिन दिनसम्म पुजा पाठ हुने छ । बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रवचन र वाङ अभिषेक गर्ने आयोजकले जनाएको छ ।
असोज १६ र १७ गते दुइ दिन फुर्वा पुजा सम्बन्धी पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक हुने आयोजकले जनाएको छ ।