आयोगमा महिला हिंसाका १ हजार ३ सय ७८ वटा घटना दर्ता
गत आर्थिक बर्षमा राष्ट्रिय महिला आयोगमा एक हजार तिन सय ७८ वटा महिला हिंसाका घटना दर्ता भएको एक तथ्याङकले देखाएको छ ।
सामाजिक विकास मन्त्रालयमा आज आयोजित प्रदेश तहमा महिला अधिकार र महिला हिंसा विरुद्धका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा आयोगका सचिव दिपेन्द्र काफ्लेले सात ओटै प्रदेशमा राष्ट्रिय महिला आयोगको शाखा विस्तारका लागी सरकारसँग समन्वय गरीरहेको बताउनुभयो । महिला बिरुद्ध बिभिन्न प्रकृतिका हिंसाहरुको घटना दर्ता भैरहेको उहाले जानकारी दिनु भयो ।
राष्ट्रिय महिला आयोगले हिंसामा परेका महिलाहरुका लागि निशुल्क टेलिफोन सेवा उपलब्ध गराएको सचिव काफ्लेले जानकारी दिनुभयो । हिंसामा परेका महिलाहरुले टोल फ्रि नम्बर ११५८ मा सम्पर्क गरेर गुनासो गर्न सक्नेछन ।
राष्ट्रिय महिला आयोगको आयोजनामा भएको कार्यक्रममा प्रदेश तीनका प्रमुखसचिव तोयम रायको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आयोगका सचिव काफ्लेको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडि, तिन नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, सञ्चारकर्मी लगाएत सरोकारवालाहरुको उपस्थिती थियो ।