विश्वमै उदाहरणीय कार्य गर्नेलाई सम्मान
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वलाई आज पदक एवं मानार्थ उपाधिले सम्मान गर्नुभएको छ ।
मानार्थ उपाधि प्राप्त गर्नेमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत रहनुभएको छ । चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो ।
चीनको राजधानी बेइजिङमा पर्सि मंगलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ । पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताउनुभयो ।
पुरस्कृत हुनेमा क्यानाडाका इसाबेल क्रूक, फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिन रहनुभएको छ । यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहनुभएको छ ।
समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।