स्वदेशमै पाइने काममा सन्तुष्टि खोज्न युवाहरुलाई आग्रह
युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद्द्धारा प्रदेश र स्थानीय तहमा सञ्चालित युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको छ ।
राष्ट्रिय युवा परिषद्ले शुक्रबार हेटौंडामा कार्यक्रमको आयोजना गरी प्रदेश ३ का १३ जिल्लाका युवा समिति अध्यक्ष र स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखहरुलाई युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।
जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि मेयर शाक्यले राजनितिक परिवर्तनका लागि प्रयोग भएका युवाहरुको शक्ति अब मुलुक समृद्धिको लागि प्रयोग गर्नुपर्ने बताउनुभयो ।
हजारौं युवाहरु दैनिक खाडी मुलुकमा श्रम गर्न जाने गरेको सन्दर्भलाई जोड्दै मेयर शाक्यले खाडीमा गरिने काम स्वदेशमै बसेर गर्न युवाहरु लाज मान्ने गरेको बताउनुभयो । स्वदेशमै पाइने काममा सन्तुष्टि खोज्न युवाहरुलाई उहाँले आग्रह गर्नुभयो ।