जनकपुरमा विशेष सुरक्षा निगरानी
जनकपुरमा दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी दशैं, तिहार लगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेकोे जनाएको हो ।
चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाइ जिल्लाको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका विभिन्न १२ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ भने विभिन्न स्थललाई विशेष सुरक्षा निगरानीमा समेत राखेको छ ।
त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, बजारमा विशेष निगरानी गरिएको समेत उपरीक्षक खनालले बताउनुभयो ।
सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा प्रहरी गस्ती गाडी, मोटरसाइकल लगायतको साधनबाट ५२ वटा गस्ती टोली परिचालन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय धनुषाले दशैंमा सदरमुकाम बाहिर जाने यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण समेत बनाएको ट्राफिक प्रहरी प्रमुख परशुराम घिमिरेले बताउनुभयो । सीआईएन