केहि गैससहरुमा कागज मिलाएर पैसा सिध्याउने परिपाटी छः प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गैर सरकारी संस्थाहरुले जिल्लामा मात्र नभइ नेपालमै थुप्रै महत्वपूर्ण कामहरु गरेको बताउनु भएको छ ।
गैरसरकारी संस्था महासंघ मकवानपुरले ४० औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले धेरै गैर सरकारी संस्थाहरुले सामाजिक क्षेत्रको सुधार र अधिकार प्राप्तीको लागि समुदायलाई सचेत गराउने काम तथा कतिीय अवस्थामा भौतिक निर्माणमा पनि सहयोग गुर्याएको भन्दै धन्यावाद दिनुभयो ।
गैरसरकारी संस्थाहरुको कामलाई आफुले अनुगमन गरिरहेको भन्दै प्रमुख खुलालले कतीपय संस्थाले गरेको काम देखेर खुशी लाग्नै तर केहि संस्थाहरुलाई हेर्दा निरासा छाउने बताउनु भयो ।
उहाँले भन्नुभयो– 'यो प्रत्यक्ष मैले अनुभुति गरेको छु, केहि एनजियोहरुमा कागज मिलाएर पैसा सिध्याउने परिपाटी छ ।'
प्रमुख खुलालले अगाडी गरिएका कामको समिक्षा गर्दै अगाडीको बाटो तय गर्न गैरसरकारी संस्था महासंघ जिल्ला कार्य समितिलाई सुझाव पनि दिनुभयो ।
सरकारको कामलाई सहयोग पुर्याउने गैरसरकारी संस्थाहरु नै रहेको भन्दै उहाँले अहिले देश संघिय ढाँचामा गइसकेको र तिन तहको सरकार बनेको अवस्थामा अब सोही अनुरुप परिचालित हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, समाजकल्याण परिषदका सहायक निर्देशक सुष्मा खड्का, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको अध्यक्षतामा भएको कार्यक्रममा गैससका प्रदेश अध्यक्ष बुद्धशरण लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो ।