गैससकर्मीलाई स्थानीय सरकारले आफ्नोपन महसुस गराउनु पर्छः भगवती पुडासैनी
जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले स्थानीय सरकारले गैर सरकारी संस्थाका कार्यक्रमलाई आफ्नो तरिकाले सञ्चालन गर्न दिनु पर्ने धाराण राख्नु भएको छ ।
हेटौंडामा रहेको गैर सरकारी संस्था महासंघको सभाहलमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले गैर सरकारी संस्थाहरुलाई स्थानीय तहले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सरकार पुग्न नसकेको ठाउँहरुमा समेत गैर सरकारी संस्थाहरु पुगेको र राम्रा कामहरु भएको भन्दै उपप्रमुख पुडासैनीले गैर सरकारी संस्थाहरुको प्रशंसा समेत गर्नुभयो ।
डलरको खेती गर्ने भन्दै एनजिओलाई किन लाञ्छना लगाईयो? भन्दै उहाँले गैससकर्मीलाई स्थानीय सरकारले आफ्नोपन महसुस गराउनु पर्ने बताउनुभयो ।
उपप्रमुख पुडासैनीले आफू गैससकर्मीहरुको कामबाट प्रभावित भएको भन्दै आवश्यक सहयोग गर्ने वचन समेत दिनु भएको छ ।
मकवानपुरका गैरसरकारी संस्थाहरुबीच सिकाई आदानप्रदान गर्ने उद्देश्यले आज हेटौंडामा प्रभावकारी अभ्यास तथा सिकाई आदानप्रदान गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा मकवानपुर जिल्लामा रहेर काम गर्दै आएका ६ वटा गैर सरकारी संस्थाले प्रतिनिधिमूलक रुपमा आफ्नो संस्था मार्फत भए गरेका गतिविधि, उपलब्धी, असल अभ्यास र सिकाईहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माईती नेपालकी कार्यक्रम संयोजक माया लामा, डेक नेपालका मानबहादुर वाईबा, सृजनशील नेपालकी रिता ढुंगेल, फियान नेपालकी रेश्मी कार्की, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी फूलमाया लामा र ट्रान्स्परेन्सी इन्टरनेशनलकी प्रमिला थिङको प्रस्तुती रहेको थियो ।
प्रस्तुतकर्ताहरुले सम्बन्धित संस्था मार्फत सञ्चालन गरेका कार्यक्रम तथा गतिविधि, उपलब्धी, असल अभ्यास, चुनौती, सिकाई जस्ता विषयमा जानकारी गराएका थिए । नागरिक समाज मञ्च मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा समाज कल्याण परिषद्का सहायक निर्देशक शुष्मा खड्का र गैर सरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको आतिथ्यता रहेको थियो ।