नागरिकको अधिकारका सवालमा समन्वय जरुरी

छहारी संवाददाता
अशोज ४, २०७६

नागरिकको अधिकारका सवालमा आवाज उठाउने संस्थाहरु तथा संचारकर्मीहरु बिच नै समन्वय हुन नसक्दा प्रभावकारी रुपमा परिणाम आउन नसकेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

इन्सेक नेपालले आयोजना हेटौंडामा आयोजना गरेको 'विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिच सहकार्य' बिषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।

नागरिकको अधिकारका सवालमा छुट्टाछुट्टै आवाज उठाउँदै आएकोले प्रभावकारी बन्न नसकेको भन्दै सहभागीहरुले अबका दिनमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरीता दाहालले संचारकर्मीहरुले उठान गरेका बिषयहरु नागरिक समाजका व्यक्तिहरुले पनि संगै उठान गरे सम्बन्धित निकायको ध्यान जाने र समाधानको लागि पहल हुने सझाव दिनुभयो ।

उहाँले नागरिकको खाद्य सुरक्षा, स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सञ्चारकर्मीहरुले कलम चलाए पनि नागरिक समाजका अगुवा संस्थाहरुले चासोका साथ नलिँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको गुनासो समेत गर्नुभयो ।

यस्तै कार्यक्रममा कोक्याप नेपालका उपाध्यक्ष दिपेन्द्र ढकालले भौतिक विकाससंगै अब नागरिकको स्वास्थ, शिक्षा र खाद्य अधिकारको सुनिश्चितताको विकासलाई पनि अनिवार्य रुपले हेरिनु पर्ने धारणा राख्नुभयो ।

उहाँले यस्ता बिषयहरुमा नागरिक समाज र सञ्चारकर्मी बिच समन्वय गरी अघि बढ्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटाले जबसम्म शिक्षा, स्वास्थ र खाद्य सुरक्षाको बिषयमा आम नागरिकले पूर्णता प्राप्त गर्न सक्दैन तबसम्म समाजमा भएका भौतिक विकासको अर्थ नरहने बताउनुभयो ।

उहाँले समाजमा जतिसुकै भौतिक विकास भएपनि आम मानिसको विकासका लागि शिक्षा, स्वास्थ र खाद्य सुरक्षा र अधिकार प्रत्याभूत हुनुपर्नेमा जोड दिनुभयो ।

इन्सेक नेपाल मकवानपुरका जिल्ला प्रतिनिधी पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*