प्रहरीको सक्रियताले मात्रै लागुऔषध गाँजा नियन्त्रण गर्न असम्भबः एसपी सिंह
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले प्रहरीको सक्रियताले मात्रै लागुऔषध गाँजा नियन्त्रण गर्न असम्भब रहेको बताउनु भएको छ ।
१७ जना प्रहरीको टोली लिएर लागुऔषध गाँजा खेती नष्ट गर्न आज मकवानपुरको राक्सीराङ पुग्नु भएका एसपी सिंहले गाउँपालिकाबाट सशक्त रुपमा कुनै पहल नभएको गुनासो गर्नुभयो ।
गलत गतिविधी न्युनिकरण गर्न सबैले पहल गर्नु पर्ने आवस्यकता रहेको भन्दै उहाँले यती धेरै संख्यामा किसानले गाँजा खेती गर्दा गाउँपालिकालाई थाहा नहुने कुरै नरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो – "हामीले गाउँपालिकाको सकारात्मक भुमिकाको अपेक्षा गरेका हुन्छौं तर गाउँपालिका र नागरिक सकारात्मक नभएको अवस्था छ ।"
गाँजा फडानी गर्न प्रहरीसंगै राक्सीराङ पुगेको पत्रकारको टोलीसंग कुरा गर्दै एसपी सिंहले प्रहरीको तर्फबाट न्युनिकरणको लागि हरसम्भव प्रयास गरिरहेको र आगामी दिनमा पनि निरन्तर लागि रहने बताउनुभयो।
राक्सीराङमा गाँजा फडानी गर्न ७५ जनाको टोली परिचालन गरिएको जानकार दिँदै उहाँले पाँच दिनसम्म त्यहाँ रहेर टोलीले गाँजा खेती निर्मूल पार्ने विस्वास व्यक्त गर्नुभयो ।
लागुऔषधको विषयमा बदनाम रहेको मकवानपुरबाट यसको कारोबार तथा खेती सदाको लागि अन्त्य गर्न निरन्तर लागि रहने उहाँको भनाई छ । त्यसको लागि नागरिकलाई गाँजाले हुने बेफाइदा, गाँजा खेती र कारोबार गर्दा हुने दण्ड सजायका बारेमा सचेत गराउनुका साथै अन्य खेती तर्फ लाग्न आग्रह गर्दै अघि बढिरहेको उहाँले बताउनुभयो ।
सचेत गराउँदा गराउँदै पनि अटेर गरी कारोबार या खेती जारी राख्ने व्यक्तिलाई भने पक्राउ गरी कडाइका साथ कानुनी दायरामा ल्याउने उहाँले चेतावनी दिनुभयो ।
यसैबीच एसपी सिंहले प्रहरीले शारिरक श्रम र कठिनाइका बाबजुद काम गरिरहेको भन्दै पmडानीमा खटिने प्रहरीलाई भत्ताको बेवस्था गर्न सके उनिहरुको बनोबल बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– "गाँजा खेती अत्यन्तै दुर्गम ठाउमा गरिएको हुन्छन् र प्रहरीले शारिरक श्रम र कठिनाइ, बाधाहरुका बीचमा काम गर्नुपर्ने हुन्छ, त्यसैले कम्तीमा दैनिक भत्ताको व्यवस्था चै हुनु पर्ने हो ।"
मकवानपुर अत्याधिक गाँजा खेती हुने क्षेत्र रहेपनि यसको न्युनिकरणका लागि बजेटको बेवस्था नभएको भन्दै सिंहले फडानीमा खटिने प्रहरीहरुको लागि अहिलेसम्म कार्यालयबाटै खाना र बस्नको बेवस्ता गरिएको जानकारी दिनुभयो ।