अटोमेटिक मेसिनबाट सेनेटरी प्याड बितरण गर्ने तयारी
बिद्यालयहरुमा छात्राहरुका लागि अटोमेटिक मेसिनबाट सेनेटरी प्याड बितरण गर्ने तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका बिकास महाशाखाको आयोजनामा आज हेटौंडामा भएको बाल दिवसको अवशरमा सम्पन्न कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।
नगर क्षेत्रका सामुदायिक बिद्यालयहरुमा छात्राहरुका लागि सेनेटरी प्याड अटोमेटिक मेसिनबाट बितरण गर्ने तयारी उपमहानगरपालिका कार्यालयले गरेको भन्दै यसले छात्राहरुलाई महिनावारी हुँदा अझै सहज हुने बताउनुभएको छ ।
कार्यक्रममा उपमहानगरपालिकाले गरेका बक्तृत्वकलामा उत्कृष्ट हुन सफल बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै कार्यक्रममा बिद्यालयहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास समितिका संयोजक अनिल बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, लगायत विभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।