कृषि उपज संकलन केन्द्र आज उद्घाटन
मकवानपुरको बकैया गाउपालिका ३, हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र आज उद्घाटन गरिएको छ ।
मर्सिकोर नेपालले बाल कल्याण समाज मकवानपुरको सहयोगमा सञ्चालन गरिरहेको सर्भ परियोजना, बकैया गाउँपालिका र स्थानीय जनश्रम मार्फत निर्माण गरिएको केन्द्र आज सांसद, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले उद्घाट्न गरे ।
कृषि उपज सङ्कलन केन्द्रमा अब गाउँगाउँबाट तरकारी सङ्कलन हुने र बजारीकरण हुने हुँदा स्थानीय कृषकलाई लाभ मिल्ने सांसद दाहालले बताए । ‘आफ्नै गाउँमा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरिएपछि अब यहाँ उत्पादित तरकारी सङ्कलन गरेर बिक्री गर्नुपर्छ ।’
सभापति दाहालले भने,‘बाहिरबाट आउँने व्यापारीले नाफा कमाउने तर किसान सधैं मर्कामा पर्ने दिन अब अन्त्य हुनुपर्छ ।’
सांसद दाहालले आफ्नो क्षेत्रमा निर्माण भएको केन्द्रको भवनबाट स्थानीय कृषकले प्रसस्त लाभ लिनसक्ने अपेक्षा गर्दै आगामी दिनमा संरचना निर्माण तथा अन्य आवश्यक कार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष सरला बोलखेले कृषकका पक्षमा सधैं गाउँपालिका रहने बताउँदै निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सल्लाह दिइन् ।
पालिकाका तर्फकाट आगामी दिनमा पनि कृषकका हितमा विभिन्न आवश्यक योजनामार्फत सहयोग गरिने उनको भनाई छ । सर्भ परियोजनामार्फत कृषकका लागि आवश्यक कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण गर्न सहयोग गरिएकोमा उनले खुशी व्यक्त गरिन् ।
परियोजना सञ्चालक संस्था बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले कृषि उपज सङ्कलन केन्द्र निर्माण पछि अब स्थानीय कृषकको उत्पादनमा बिचौलियाले फाइदा लिन नसक्ने अपेक्षा गरे । अब स्थानीय कृषकका उत्पादन कृषि उपज सङ्कलन केन्द्रमा सङ्कलन गर्ने र आवश्यक मात्रामा स्थानीय बजारमा खपत गर्ने कार्यले स्थानीय कृषकलाई लाभ हुने बताए ।
कृषि उपज सङ्कलन केन्द्र निर्माणका लागि सर्भ परियोजनाबाट १३ लाख ८१ हजार एक सय ५१, बकैया गाउँपालिकाबाट ८ लाख र स्थानीय जनश्रमदान ५ लाख ३२ हजार सात सय सतासी रुपिया गरी २७ लाख तेह्र हजार नौ सय अठ्तीस रुपिया लागत लागेको छ ।
सर्भ परियोजनामार्फत बकैया गाउँपालिकामा जाखिम वर्ग सूचीमा रहेका भूकम्पको लाभग्राहीको घर निर्माणका लाथि नगद तथा प्राविधिक सहयोग, वित्तिय साक्षरता कक्षा सञ्चालन, बस्ती बचाउ सहयोग, कृषि समूहलाई आवश्यक कृषि तालिम तथा व्यवसायिक सुरुवातका लागि जिविकोपार्जन सहयोग, सहकारी व्यवस्थापनका लागि विभिन्न सामग्री सहयोग तथा लेखा व्यवस्थापनमा सहजीकरण लगायतका सहयोग कार्य गरिएको पनि जिल्ला कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए ।
नव निर्मित भवन कृषि उपज सङ्कलन केन्द सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण महर्जन र सचिव सूर्यबहादुर नेगीलाई संयृक्त रुपमा कार्यक्रमका प्रमुख अतिथी सांसद, अर्थ समितिका सभापति दाहाल, गाउँपालिका उपाध्यक्ष बोलखे, बकैया ३ का वडा अध्यक्ष दिलबहादुर भोम्जन, मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले संयुक्त रुपमा हस्तान्तरण पनि गरे ।
भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा बकैया गाउँपालिका आर्थिक विकास तथा सहकारी शाखा प्रमुख शिवराज पौडेल, कृषि शाखा प्रमुख डम्बरनारायण दाहाल, बाल कल्याण समाज मकवानपुरका कोषाध्यक्ष महालक्ष्मी राजभण्डारी श्रेष्ठ, प्रहरीचौकी हात्तिसुढेका असई कृष्णराज गौतम, बुद्घ मावि हात्तिसुढेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर डिम्डुङ, सर्भ परियोजना संयोजक रामप्रसाद दहाल, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष नानीमैया बजगाँई लगायतको आतिथ्यता थियो । भवन उद्घाटन समारोह बाल कल्याण समाज मकवानपुरका अध्यक्ष डा। गणेश लामा बलको अध्यक्षतामा भएको हो ।