छाला क्यान्सर पीडित रेणुलाई आर्थिक सहयोग जुट्ने क्रम जारी
छाला क्यान्सरबाट पीडित ११ वर्षिय रेणु दमाईलाई आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
हेटौडाबाट सञ्चालित लालखबर डटकमका अध्यक्ष राज सापकोटा र कार्यालय संयोजक राजेश गरिबले रेणुको उपचारका लागि संकलन गरेको १८ हजार १ सय ८५ रुपैयाँको चेक आज परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यालय संयोजक गरिबको संयोजकत्वमा संकलित उक्त रकम बराबरको चेक बिरामीका बुवा सिताराम दमाईलाई हस्तान्तरण गरिएको हो ।
रेणुको उपचारमा १२ लाखभन्दा बढी रकमको आवश्यकता परेको र परिवारले रकम जुटाउन नसक्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको हुदाँ केहि रकम संकलन गरेर सहयोग गरेको संयोजक गरिबले बताउनुभयो ।
यसअघि समृद्ध नेपालको लागि नयाँ पाइला नामको संस्थाले रेणुको उपचारको लागि संकलित नगद ५५ हजार १ सय ३५ रुपैया परिवारलाई हस्तान्तरण गरेको थियो । कक्षा ५ मा पढ्ने रेणुको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।