बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झड्का,संसदमा बहुमत गुम्यो 

छहारी संवाददाता
भदौ १९, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा बहुमत गुमाउनुभएको छ ।

बेलायती सांसदले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उहाँ कमजोर बन्नुभएको हो ।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदले मतदान गरेपछि प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झड्का लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदले मतदान गरेका छन् । जसका कारण अब उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन् । विधेयकमाथि संसदमा छलफल हुने बताइएको छ ।

गएरातिको मतदानमा सरकारको पक्षमा तीन सय एक मत र विपक्षमा तीन सय २८ मत खसेको थियो । प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने यसअघि नै बताइसक्नुभएको छ ।

सरकार अक्टोबर १५ तारिखमा आमचुनाव गराउने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युरोपेली संघको बैठक बस्नु भन्दा २ दिनअघि निर्वाचन गराउने सरकारले तयारी गरेको बताइएको छ ।

पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसन संसदमा कमजोर बन्नु भएको हो ।

यो सँगै ६ सय ५० सदस्यीय ब्रिटिश संसदमा कन्जरभेटिभ पार्टीको तीन सय ९ र डेमोक्याट्रिकक युनियन पार्टीको १० सांसदसहित प्रधानमन्त्री जोनसनसँग अब तीन सय १९ सांसदको समर्थन छ भने विपक्षी दलसँग तीन सय २० सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*