मिटरब्याजी परदेशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने
सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह ‘परदेशी’माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्ने भएको छ ।
परदेशीलाई प्रहरीले हिजो पक्राउ गरिसकेको छ । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको थियो ।
हिजो नै विभागले प्रहरीलाई पत्र लेख्दै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न लागेको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अनुसन्धान गर्न आग्रह गरिएको जानकारी दिएको छ ।
‘परदेशी’माथि प्रहरीले ठगीको अनुसन्धान गरेर मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुने विभागमा महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका परदेशीबाट ४७ जनाभन्दा बढी ठगिएको जनाइएको छ। उनीहरु न्याय खोज्दै काठमाडौंसम्म आइपुगेका थिए ।
काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।
काठमाडौं आएका अधिकांशलाई साहले चर्को व्याजमा ऋण प्रवाह गरेका थिए । त्यसरी अवैध रुपमा कामएको सम्पत्तिलाई जफत गर्ने गरी सरकारले अनुसन्धान अघि बढाएको हो ।