कसरि जन्मिन्छ आतकंवाद !
गोकर्णराज बन्जाडे/दसबर्से द्वन्द्व र आतंकको भुमरीबाट बल्लबल्ल बाहिर निस्केको हाम्रो मुलुक नयाँ संस्करणमा फेरि द्वन्द्वमा फर्किने खतरा देखिँदै छ।
सन् १९३५ जनवरीको जाडोमा अमेरिकाको न्युयोर्क नगरको अलि पिछडिएको क्षेत्रमा रहेको एक अदालतमा पसलबाट रोटी चोरी गरेको अभियोगमा एक वृद्धाको सुनुवाइ चलिरहेको थियो। उनी रुँदै बाबुले छाडेका र आमा बिरामी भएका दुई नातिनातिनीको भोक मेटाउन अन्य विकल्प नभएकाले उक्त चोरी गरेको स्वीकार गरिन्। पसले उनलाई माफी दिन तयार थिएन। पसलेको आशय चोरलाई सजाय गरी बाँकी समाजलाई सबक सिकाउनुपर्छ भन्नेमा थियो। सुनुवाइ सकियो। अब पालो न्यायाधीशको भूमिकामा रहेका त्यहाँका उनान्सयौं मेयर एफ एच ल गार्डियाले फैसला सुनाउने दिन आयो। उनले ती वृद्धालाई दस डलर जरिबाना वा दस दिन कैदको फैसला सुनाए र तत्क्षण आफ्नो खल्तीबाट दस डलर निकालेर उनलाई दिए। अनि सँगसँगै बाँकी समाजलाई सबक सिकाउन निर्दोष बालबालिकाको पेटनिम्ति तिनकी हजुरआमाले चोरी गर्नुपर्ने समाजमा बसेवापत उपस्थित हरेकले पन्ध्र सेन्ट दण्ड जरिवाना तिर्नुपर्ने निर्णय सुनाए।
प्रहरी संगठनले समातेर साबिती बयान र भेटिएका प्रमाणसहित अदालतसमक्ष पेस भएका अभियुक्तलाई भव्य भवनभित्र वातानुकूलित इजलासमा विराजमान न्यायकर्मीबाट फैसला गराई सजाय दिँदैमा अपराध नियन्त्रण हुने होइन। अपराध व्यक्तिको जन्मसिद्ध स्वभाव होइन। राज्यले अवलम्बन गरेको नीति, सरकारी कार्यसम्पादन शैली अनि सामाजिक व्यवहारको उपज हो। हामी आफूलाई सभ्य र भव्य बनाउने क्रममा दिनदिनै अपराध र अपराधी जन्माइरहेका छौं। त्यो अपराध कर्मको दोष सधैं अरूमाथि थोपर्छौं। अनि त्यसबापतको सजाय जीवनभर भोगिरहन्छौं अशान्ति, असुरक्षा र आतंकवादको रूपमा। कुनै पनि आतंकवादको जन्म सामाजिक विभेद, राजनीतिक अविवेक र भ्रष्टाचारको गर्भबाट हुन्छ। जबसम्म यस कुरालाई हामी स्वीकार गर्दैनौं, शान्त र समृद्ध समाजको परिकल्पना विषवृक्ष रोपेर अमृतफलको अपेक्षा राख्नुजस्तै हो।
अहिले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या (? ), यसअघि खिचिएको भिडियोको सार्वजनीकरण र त्यसैका आधारमा रवि लामिछानेको गिरफ्तारीसमेतका घटनाले नेपाली समाज तातिएको छ। यो तत्काल सेलाउने लक्ष्यण पनि देखिँदैन। सरकार अनुसन्धान गर्दै छु भन्दै छ। सडकमा उत्रिएका जनता उनी निर्दोष छन् उनलाई फसाइँदै छ भन्दै छन्। सरकारी संदिग्ध अनुसन्धान शैली अनि सडक र सामाजिक सञ्जालमा पोखिएका तर्कवितर्कका बीच यसको सत्यापनको जिम्मा भविष्यको गर्भमै छाडौं। तर यसरी पोखिएका आक्रोशमा चिप्लिँदै हाम्रो यात्रा कहाँ पुगेर अशान्तिको भुमरीमा पछारिने हो, यसै भन्न सकिँदैन।
यसैगरी गएको वर्ष निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा संलग्नलाई कारबाही गर्ने विषयमा सरकार र सडकको लडाइँमा अपराधी लुकाउने र कारबाही प्रक्रियामा अवरोध गर्ने भनिएकाहरूबीचको लडाइँ अझै जारी छ। आम प्रश्नहरू अझै अनुत्तरित नै छन्।
शिक्षा र स्वास्थ्यमा आम नागरिकको सुलभ पहुँचको माग राख्दै वरिष्ठ चिकित्सक नै अनसनमा बस्छन्। विगतमा न्यायपालिकाको नेतृत्व गरिसकेका र प्रहरीका पूर्व उच्च अधिकारीहरूसमेतबाटै न्याय र सुरक्षा व्यवस्थाका लागि सडकमा ओर्लन्छन्। यसबाट देशको सामाजिक न्याय र सुरक्षा व्यवस्थामाथिको विश्वसनीयताबारे थप भनिरहनुपर्ला र ?
सार्वभौमसत्तासम्पन्न यो देशमा जनता आफैंले चुनेका प्रतिनिधिमार्फत बनाइएको संविधान छ। संवैधानिक व्यवस्था र सर्वस्वीकृत लोकतान्त्रिक पद्धतिबाटै निर्वाचित दुईतिहाइ बहुमतसहितको बलियो सरकार छ। जननिर्वाचित व्यवस्थापिका छ, जसले कानुन बनाउँछ। कानुन कार्यान्वयन गर्ने कार्यपालिका छ, जनताको जीउधनको सुरक्षा यसको जिम्मेवारी हो। कानुनको व्याख्या गर्ने न्यायपालिका छ। संविधान र कानुनले स्थापना गरेका अन्य राजनीतिक संस्थाहरू छन्।
जसअनुसार घटना अनुसन्धानकर्ता प्रहरी संगठन छ। घटना विश्लेषण र जाँच परीक्षण गर्ने विज्ञ–विशेषज्ञहरू छन्। बहस पैरवीकर्ता वकिल अनि प्रमाण बुझी फैसला गर्ने अदालत छ। तर सडक र सामाजिक सञ्जालमार्फत सीधै फैसला छताछुल्ल पोखिइरहेका छन्। यसलाई कसरी बुझ्ने ? यसलाई अनावश्यक हतारोका रूपमा लिने वा यी संयन्त्रप्रति जनताको अविश्वासका रूपमा ? यो भीड सरकारी अनुसन्धान कार्यलाई अवरोध गर्न निस्केको हो वा न्यायका लागि दबाब सिर्जना गर्न ? आज आमनागरिकमा यी संस्थाबाट स्वतन्त्र रूपमा कार्य सम्पादन हुनेमा अविश्वास चुलिँदो छ। यसरी नै यसको मात्रा बढ्दै गयो र राजनीतिक संस्थाहरू भरपर्दा भएनन् भने भीड कता लाग्ला ? यसरी नै राज्यसंयन्त्रले विश्वास गुमाउँदै गयो भने वैकल्पिक न्यायको खोजी र अभ्यासले अराजकता र आतंक नबढाएर के बढ्छ त ?
देशमा संस्थागत रूपमै मौलाउँदो भ्र्रष्टाचारविरुद्ध व्यंग्य गरिएको पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत गत साल निकै चर्चामा रह्यो। यसको समर्थन र विरोधमा सडकदेखि सदन र सामाजिक सञ्जालदेखि औपचारिक मिडियासम्म तात्तिए। यस गीतको समर्थन गर्नेले यसलाई वर्तमान नेपालको वास्तविक स्थितिको रूपमा मात्र बुझे। उनीहरू अहिलेको सत्तामाथि मात्र प्रहार भए झैं गरी दस हात उफ्रिए। यसको विरोध गर्नेहरूबाट गणतन्त्रको मानमर्दन र समृद्धिको बाधकका रूपमा अथ्र्याउँदै राजनीतिक संस्था र त्यसबाट समर्थित, संरक्षितहरूको विरोध नगर्न अह्राइयो।
वास्तवमा न यो वर्तमान सत्तामाथि मात्र व्यंग्य हो न त लोकतान्त्रिक गणतन्त्र र यसका धरोहरमाथिको आक्षेप नै। यो हामी आफैंले निर्माण गरेको समाज र राजनीतिको यथार्थ चित्रण हो। बरू यी घटनाक्रमले हाम्रो देशमा राजनीतिक नेतृत्व सार्वजनिक साधन स्रोतमाथिको निर्बाध दोहन चाहन्छ भन्ने देखाउँछ। यसले हाम्रो समाज र राजनीतिमा रहेका विकृतिबाट जन्मन सक्ने विद्रोहको प्रतीकात्मक सम्भावना प्रस्ट्याएको रूपमा बुझ्न कोही तयार देखिएन। विद्रोहका यस्ता फिलिंगाले कुनै पनि बेला विशाल डढेलोको रूप लियो भने धेरै कुरा जल्न सक्छ।
मुलुकको सतर्कता प्रणाली जतिसुकै संगठित भए पनि र राजनीतिज्ञहरू मोजमस्ती र महिमाको आहालमा अनि आम जनता कुशासनको पोखरीमा डुबेका छन् भने आतंकवाद त्यहीं जन्मिन्छ र हुर्कंदै जान्छ।
सामाजिक तथा राजनीतिक विकृति र विसंगतिको विरोध गर्न नपाइनु भनेको त्यसलाई निरन्तरता दिन चाहनु हो। यस्तो आवाज केही समय दबाउन सकिएला तर आफैं नसच्चिएमा समयक्रमले यसलाई विद्रोहको रूप दिन्छ। यसबाट समाजले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। मुलुकबाट विरोध, विद्रोह र आतंकवादको अन्त्य यसका दृश्यवाहकलाई थुनेर, कुटेर वा प्रतिबन्धित गरेर हँुदैन। न वार्ता वा संवादका नाममा भागबण्डा गरी मुख बुझो लगाएर नै समस्याको समाधान हुन्छ।
सरकार सीके राउतसँग सम्झौता गरेर र विप्लवलाई प्रतिबन्ध लगाएर आफूलाई गरिमा मण्डित गर्दै छ। के यी दुई पात्र मात्रै समस्याका जड हुन् त ? यिनलाई फकाएर वा दबाएर निस्तेज पार्दैमा सबै अराजकता र आतंकका जरै उखेलिने हुने हुन् त ? के सोच्दै छ हाम्रो राज्यसत्ता र सम्भ्रान्त समाज ? अर्कोलाई भोकै र नांगै आँगनमा छाडेर मस्तको निद्रा सुत्ने अवस्था अब धेरै दिन टिक्न सक्दैन। तिनको चीत्कार अब एकाकार भयो भने कुनै कानुन र राज्यसत्ताले निभाउनै नसक्ने गरी ज्वालामुखी फुट्न सक्छ।
यसै सन्दर्भमा पूर्वीय साहित्यका दुईजना पौराणिक पात्रको जीवनका उस्तैउस्तै तीन चरणको चर्चा गरौं ः एउटा रत्नाकर डाँकुको कथाका केही अंश र अर्को शृंखलाबद्ध हत्यारा अंगुलीमाल। धेरैले सुनेका पौराणिक पात्र हुन् यी। तर यिनको जीवनका बदलाव केही मिल्दोजुल्दो प्रकृतिका छन्। ऋषिसँगको संवादले खतरनाक डाँकु रत्नाकर पछि महान् ग्रन्थ रामायणका रचयिता वाल्मीकि बने। बुद्धसँगको संसर्गले शृंखलाबद्ध हत्यारा अंगुलीमाल अपराधको दुनियाँ त्यागेर शान्ति र अहिंसाका प्रचारक बने।
यी दुवै पात्र महान् व्यक्तिको प्रेरणा पाएर सत्मार्गमा लागेको कथा हामी धेरैले धेरैपटक सुनेका पढेका छौं। हामी सुध्रेका मान्छेको कथाको मात्रै बढी चर्चा गर्यौं। तर असल मान्छे कसरी बिग्रेका छन् ? असाध्यै सज्जन मान्छे पछि गएर कसरी खुंखार अपराधी बन्छ ? अपराधीलाई सजाय दिँदैमा वा कुनै महान् सत्संगमा लगाउँदैमा हाम्रो समाज अपराधविहीन हुन्छ त ? आज पनि हामी आफू सुध्रने वा बदलिनेभन्दा पनि कोही महामानवको अवतार पर्खेर बसिरहेका छौं। जसले हामीले विकृत बनाएको यो समाजलाई चमत्कारिक ढंगले सुधारिदेओस्। धेरै चर्चामा नल्याइएको यी दुवै पात्रको जीवनको अर्को पाटो पनि छ।
डाँकु रत्नाकर
रत्नाकर आफ्नो देशको सीमारक्षक एक कर्मठ सैनिक थिए। उनको देशको फौजले शत्रु राज्यसँगको लामो युद्धमा विजय प्राप्त गर्यो। युद्धमा हार्नेहरूका स्त्रीहरूमाथि जित्ने पक्षका सैनिकहरूबाट पासविक व्यवहार भयो। युद्धनीतिविपरीतको यस्तो अपराध र महापाप भइरहँदा उनी मूकदर्शक भइरहन सकेनन् र यसको प्रतिवाद गरे।
उनको यस कामप्रति क्रोधित राजाले उनलाई अपराधी घोषित गरे। यस घटनाले उनलाई एक विद्रोही बनायो। जंगलमा लुकिछिपी हिँड्नुपर्दा आफ्नो परिवार पाल्न डाँकु पेसा अँगाल्न पुगे। यसरी उनी कुशल लडाकु सैनिकबाट खुंखार अपराधीमा परिणत भए।
अंगुलीमाल
राजपुरोहितको परिवारमा जन्मेका उनको न्वारानको नाम अहिंस्रक हो। पढाइमा अब्बल उनी व्यवहारमा पनि नामजस्तै असल थिए। प्रारम्भिक अध्ययन दरबारमै सकेपछि उच्च शिक्षाका लागि उनलाई राज्यकोषबाटै खर्च व्यहोर्ने गरी तक्षशीला विश्वविद्यालय पठाइयो। उनको तीक्ष्ण बुद्धि, असल व्यवहार र ज्ञानबाट सबैजसो प्रभावित थिए। गुरुमाता उनलाई असाध्यै स्नेह गर्थिन्। उनी हरेक विधामा निपुण बन्दै गए। जसका कारण उनको ख्याति सर्वत्र फैलिएको थियो।
यसैबीच उनी राजकुमारीसँग प्रेममा परे, जुन कुरा उनका साथीहरूलाई पटक्कै मन परेको थिएन। उनीहरू भित्रभित्रै ईष्र्याले जल्न थाले र उनीविरुद्ध षड्यन्त्र रच्न थाले। विभिन्न झूटा लान्छना लागाएर गुरुलाई भड्काउन थाले। अध्ययन सकिएर दीक्षान्त समारोह हुनुभन्दा केही समयअघि उनीविरुद्ध गुरुमातासँग लसपस गरेको भनी गम्भीर आरोप लगाइयो। जब दीक्षान्त समारोह सुरु भयो, गलत भड्कावमा परेका उनका गुरुले खुंखार हत्यारो बन्ने स्राप दिए र गुरुदक्षिणास्वरूप एक हजारजनाको हत्या गरी प्रत्येकको औंला काटी त्यसको माला लगाउने आज्ञा दिए। यसरी उनी एक असल, इमानदार र बुद्धिमानी अहिंस्रकबाट खुंखार हत्यारा अगुलीमालमा परिणत भए।
रत्नाकर र अंगुलीमालमाथि जुन किसिमको अन्याय राज्य र समाजले गर्यो, त्यसको सजाय लामो समयसम्म त्यही समाजले भोग्नुपर्यो। दिनदहाडै लुटिनु, काटिनुपर्ने र आतंकित जीवन व्यतीत गर्नुपर्ने अवस्था तत्कालीन समाजलाई आइपर्यो।
झण्डै दसबर्से द्वन्द्व र आतंकको भुमरीबाट बाहिर निस्केको भनिएको हाम्रो मुलुक त्यसकै नयाँ संस्करणमा प्रवेश गर्ने खतरासमेत देखिँदै छ। यो खतराबाट मुलुकलाई जोगाउन शीघ्रातिशीघ्र उपयुक्त कदम चालिनुपर्छ भन्नेमा अधिकांशको मत मिल्छ। तर यसमा पनि वार्ता र संवादको बाटोबाट यसको अवतरण गराउने वा दमनबाट भन्नेतर्फ मात्र राष्ट्रिय शक्तिहरू ध्रुवीकृत छन्। तर यस्ता विद्रोहका कारण र प्रभावबारे विश्लेषण कमै भएको छ।
शान्तिका खातिर भन्दै हिजो प्रचण्डलाई रातो कार्पेट बिछ्याएर सत्तासम्म पुर्यायौं। सँगसँगैै उनी र केही सय मानिसलाई सम्भ्रान्त वर्गमा रूपान्तरण गर्यौं। राजनीतिक भ्रष्टाचारलाई झन् संस्थागत गर्यौं। आज सीके राउतलाई मूल प्रवाहमा ल्यायौं भनेका छौं। अब विप्लवलाई प्रतिबन्ध लगाएर उनका कार्यकर्ता र समर्थकलाई कतै गोली ठोक्दै त कतै कागज गराउँदै छौं। यस्तै गर्दागर्दै उनी नेतृत्वको संघर्ष समेटिन वा मेटिन त सक्ला। तर हाम्रो जुन सामाजिक धरातलमा यी र यस्ता आन्दोलन र संघर्ष उम्रेर हुर्किरहेका छन्, त्यो बाँझिएला वा झन् उर्वर बन्ला ?
मुलुकमा भ्रष्टाचार यति संस्थागत छ कि कुनै पनि सरकारी कार्यक्रम सञ्चालन र कार्यक्रमको जिम्मा पाएको तलदेखि माथिसम्मका पदाधिकारीले त्यसमा सम्पूर्णरूपमा मनोमानी गर्न पाउनु उसको स्वाभाविक अधिकार हो भन्ने सम्झन्छ। समाजमा अपराधीहरू खुलमखुला र इज्जतसाथ हिँड्छन् भने त्यसको विरोध गर्नेहरू यति सताइन्छन् कि तिनलाई समाजमा बाँच्नै गाह्रो हुन्छ। राजनीति कमाइ गर्नेे माध्यम भएको छ भने सरकारी सेवा राज्यस्रोतको अनुचित दोहन र जनता सताउने लाइसेन्सजस्तै भएको छ। यो मुलुकमा शान्तिसुरक्षाको जिम्मा लिएकाहरू जनता सताउने र तस्करीमा संलग्न भेटिन्छन् भने जनतालाई न्याय दिनुपर्ने राज्यको अंगमा समेत भ्रष्टाचार व्याप्त छ। अदालतबाट हुने फैसला वा निर्णयमा न्याय निःसृत नहुने, त्यस्तो फैसला वा निर्णयमा आर्थिक लेनदेन र भनसुनले प्रभाव पार्ने, पैसा नहुनेले अन्याय र अत्याचार चुपचाप स्विकार्नुपर्ने अवस्थाले कुनै समाजमा शान्ति र अमनचयन कायम होला त ?
मुलुक सञ्चालनको जिम्मेवारीमा रहेको नेतृत्वपंक्तिले कसरी बुझेको छ, थाहा छैन। तर आतंकवादी अलादिनको चिरागबाट फुत्त बाहिर निस्कने होइनन्। यिनीहरूको पनि आफ्नै कार्ययोजना र धेरै लामो प्रक्रिया हुन्छ। कुनै देशीविदेशी शक्तिले उचालेर मात्र यो उचालिने पनि होइन। मुलुकको सतर्कता प्रणाली जतिसुकै संगठित भए पनि र राजनीतिज्ञहरू मोजमस्ती र महिमाको आहालमा अनि आम जनता कुशासनको पोखरीमा डुबेका छन् भने आतंकवाद त्यहीं जन्मिन्छ र हुर्कंदै जान्छ।