कवि तथा सहित्यकार श्रेष्ठ प्रिया पत्थर १७ औं महालक्ष्मी साहित्य पुरस्कारबाट सम्मानित हुँदै
१७ औं महालक्ष्मी साहित्य पुरस्कार २०७५ बाट महेन्द्रनगर धनगढीकी कवि तथा सहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई सम्मानित गरिने भएको छ ।
मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेड हेटौडाले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
यहि भदौ १४ गते शनिवार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने बताइएको छ ।
भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने उदेश्यले २०५९ सालमा स्थापना भएको यती फाइनान्स साहित्य पुरस्कारको नाम परिवर्तन गरी महालक्ष्मी साहित्य पुरस्कार राखिएको महालक्ष्मी विकास बैंक हेटौडाका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यती फाइनान्स लिमिटेड, यती विकास बैंक हुँदै हाल महालक्ष्मी विकास बैंकको रुपमा एकिकृत भएपछि २०७४ सालको १५ औं श्रृंखलादेखि पुरस्कारको नाम परिवर्तन भएको प्रबन्धक पराजुलीले बताउनुभयो । साथै पुरस्कार राशी समेत बृद्धि गरी २१ हजार १ रुपैया पुर्याइएको उहाँले जानकारी दिनुभयो ।
उक्त पुरस्कार नेपाली साहित्यमा योगदान पुर्याउने साहित्यकारहरुलाई स्थापना कालदेखि नै निरन्तर प्रदान गरिँदै आएको छ । गतवर्ष पूर्वाञ्चलका श्रष्टा विवश पोखरेललाई यो पुरस्कार प्रदान गरिएको थियो । यसअघिका वर्षहरुमा विभिन्न साहित्यकारहरुलाई यो पुरस्कार प्रदान गरीसकिएको छ ।
देशका विभिन्न क्षेत्रमा यो पुरस्कार पुग्दा महालक्ष्मी विकास बैंकको नाम र गरिमा पनि देशभर फैलने प्रबन्धक पराजुलीले बताउनुभयो ।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संबद्र्धन गर्ने उदेश्यले २०५६ सालमा मातृभूमि साहित्य समाजको स्थापना भएको हो । समाजले भाषा र साहित्यको विकासका लागि निरन्तर काम गर्दै आएको छ ।