बीजेपीका वरिष्ठ नेता अरुण जेटलीको ६६ वर्षको उमेरमा निधन
भारतीय पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको ६६ वर्षको उमेरमा आज निधन भएको छ ।
गएको नौ दिनदेखि दिल्लीको एम्स अस्पतालमा उनको उपचार भैरहेको थियो । एम्स अस्पतालकी प्रवक्ता आरती विजका अनुसार जेटलीको निधन शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको हो ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंह जेटलीको स्वास्थ्य अवस्था बुझ्न एम्स अस्पताल पुगेका थिए । त्यसभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्य मन्त्री हर्षवद्र्धन लगायत अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।
यही महिना श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
मोदीको पहिलो कार्यकालमा अर्थ मन्त्री रहेका जेटली स्वास्थ्यमा आएको खराबीसँगै नयाँ सरकारमा कुनै जिम्मेवारी नलिने बताएका थिए ।
भारतले यसै महिना मात्रै दुई जना वरिष्ठ राजनीतिज्ञलाई गुमाएको छ । यसअघि अगस्ट ६ मा भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भएको थियो ।