आईसीसीको टी ट्वान्टीे वरियतामा नेपाल यथावत ११ औं स्थानमा
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले आज सार्वजनिक गरेको टी, ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ ।
नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन ।
एसोसियट राष्ट्र मध्यको टी ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि रहेको छ । टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् ।
यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ ।