रुस र चीनले गरे संयुक्त हवाई गस्ती, जापान र कोरियाद्धारा विरोध
रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ ।
त्यसको प्रतिक्रियामा दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएका छन् । रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको जनाएको छ ।
उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ।
दक्षिण कोरियाले भने आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गर्ने चेतावनी दिएको बताएको छ। उक्त घटनालाई लिएर जापानले रुस र कोरिया दुवैको विरोध गरेको छ।
कोरियाले मंगलवार बिहान रुसी र चिनियाँ विमानहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको विविसीले जनाएको छ ।