सेफ हाउसले यसबर्ष १४५ जना हिंसापिडितलाई आश्रय दियो
मकवानपुरमा यसबर्ष १ सय ४५ जना हिंसापिडित महिला तथा बालबालिकाहरुले सेफहाउसमा आश्रय लिएको सरोकारवालाहरुले जानकारी दिएका छन् ।
बुधबार सेफ हाउस हेटौंडा उपमहानगरपालिका समन्वय समितिको बैठकमा यस्तो जानकारी गराइएको हो।
विभिन्न कारणले आश्रय बिहिन भएका महिला तथा बालबालिकाहरुका लागि तत्कालिन महिला तथा बालबालिका कार्यालय मकवानपुरद्धारा बिक्रम सम्बत २०६७ देखि सञ्चालित सेफ हाउस मा १ दिन देखि एक महिनासम्म पिडितहरुले आश्रय लिने गरेको जिल्ला सेवा केन्द्रकी प्रमुख बिन्दा बर्तौलाले जानकारी दिनुभयो ।
बैठकमा सेफ हाउसमा भएका बार्षिक कार्यक्रमबारे छलफल भएको थियो । सेवा केन्द्रहरु मार्फत १ सय १८ जना हिंसा पिडित महिला तथा बालबालिकाहरुले सहयोग प्राप्त गरेका छन् ।
सेफ हाउस सञ्चालनका लागि प्रदेश तीन सरकारबाट २ लाख ८६ हजार र हेटौंडा उपमहानगरपालिकाबाट ८ लाख रुपैया बजेट प्राप्त भएको प्रमुख बर्तौलाले जानकारी दिनुभयो ।
अहिले जिल्लामा मकवानपुर गढी गाँउपालिका र इन्द्रसरोबर गाँउपालिका बाहेकका सबै स्थानहरुमा गरि सेफ हाउसका ९ वटा सेवा केन्द्रहरु सञ्चालित रहेका छन् ।