योग दिवसः हामीले योग सूत्रका रचयिता भगवान शिवलाई बिर्सियौं, गौतम बुद्धले योग ध्यानबाट प्रप्त गरेको ज्ञानलाई बिर्सियौं
आज अन्तराष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
प्रभातफेरी, सभा समारोहमा योगका भए नभएका फाइदाका भाषण सुन्न पाइन्छ । कहिल्यै प्राणायाम सम्म नगरेकाले आज योग गरेको फोटो खिचाएर फेसबुकमा पोस्ट गर्नेको लर्को हुन्छ ।
कसैका लागि रोग भगाउने योग, कसैकालागि स्वस्थ बनाउने योग अनि कसैका लागि आध्यात्मिक हुने योग आज फेसनेबल हुँदै गएको छ ।
योग दिवस वर्तमानको आवाज हो, आजको समयको सन्देश हो । राम्रा कुराको सबैले अनुसरण गर्नु पनि पर्छ । तर विश्वले योग दिवस मनाउन सुरु गर्दा नेपालले चार दशक लामो योग दिवस मनाइरहेको थियो ।
विडम्बना, हामीले आफ्नै गहनालाई चिनेनौँ । आफ्नै सम्पत्तिलाई बुझेनौँ । हामीले योग सूत्रका रचयिता भगवान शिवलाई बिर्सियौं, गौतम बुद्धले योग ध्यानबाट प्रप्त गरेको ज्ञानलाई बिर्सियौं, बुद्धको ध्यान मूर्ति जुन विश्वप्रसिद्ध छ ।
नेपालमा योगको इतिहासलाई केलाउने हो भने अरुले सुरु गरेको योग दिवसको पछि लागिरहनु पर्ने आवस्यकता छैन ।
योगमा के छ रु
सामान्य भाषामा योग स्वस्थ हुने प्रक्रिय हो । यसमा स्वस्थ तनका लागि आसन छ, स्वस्थ मनका लागि चिन्तन छ अनि स्वस्थ समाजका लागि यम र नियमको संयोजन छ ।
योग सानो शब्दबाट विस्तृत भएर फैलिन्छ, बिहान क्षितिजमा उदाएको सूर्यका किरण चारैतिर आकाशमा फैलिए जसरी ।
आज स्वास्थ्यका क्षेत्रमा योग महत्वपूर्ण आयाम बनिसकेको छ, योग रोगको निदान बनेर आएको छ, योग रोगको रोकथाम बनेर उदाएको छ, साथै योग आशा बनेर धेरै रोगीका मनमा छाएको छ ।
केवल विश्वासमा सीमित नभएर अभ्यासमा परीक्षित भएर योग आधुनिक चिकित्सा क्षेत्रमा समाएको छ । मानसिक स्वास्थ्यका विधामा प्राणायाम, ध्यानजस्ता आयामबाट, सुविचार अनि सदाचारका माध्यमबाट योग आजको मानसिक स्वास्थ्यका क्षेत्रमा पनि थेरापी बनेर उदाएको छ ।
योगको उत्पत्ति
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो ।
योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ ।
वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ । यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् ।
योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ ।
यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् ।
यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो । नागरिक नेटवर्कको सहयोगमा