नेपाल उद्योग वाणिज्य महासङ्घको टोली युरोपको व्यापारिक भ्रमणमा

छहारी संवाददाता
जेष्ठ २८, २०७६

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले नेदरल्याण्डको आर्मस्टरडममा एक समारोहका बीच गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

भेटघाटका क्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जका उद्योगीहरु संयुक्त लगानीमा उद्योगहरुको स्थापना गर्न तयार रहेको र विदेशी लगानीकर्ताहरुको खोजिरहेकोले वीरगञ्ज वरपर क्षेत्रमा लगानी गर्न नेदरल्याण्डमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले नेदरल्याण्डमा रहेका नेपालीहरुलाई वीरगञ्ज भ्रमणको लागि आमन्त्रण गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्डका पदाधिकारीहरुले मुलुकको आर्थिक समृद्धि गर्नु आफ्नो पनि दायित्व रहेकोले मुलुकमैं लगानी गर्न इच्छुक रहेको बताउनुभयो । प्रदेश नं २ को नीति अनुरुप नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले यस क्षेत्रमा लगानी गर्न अझ उत्साहित तुल्याएको बताउनुभयो ।

खास गरी वीरगञ्ज मुलुककै औद्योगिक राजधानी भएकोले भौतिक विकास तथा वीरगञ्जमा विदेशी लगानी भित्रयाउने दिशामा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

भेटघाटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायत १५ जिल्ला,नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*