राष्ट्रिय कृषक दिवसः कृषक अहोरात्र खटिन्छ तर सुखको सास कहिले फेर्न पाउँदैन(फोटा फिचर)
प्रमोद तिमलसेना/ कृषक एउटा यस्तो मजदुर हो जो अहोरात्र खटिन्छ तर सुखको सास कहिले फेर्न पाउँदैन । तर पनि आफ्नो जीवनको अमुल्य समय खेतबारी र उब्जनी मै बिताएको हुन्छ, आफ्नो जमिनलाई आमा जत्तीकै माया गरेको हुन्छ ।
कृषकको मेहनत बिना यो संसारका जुनसुकै ठूला व्यक्तिको जीवन चल्न सम्भव छैन । तर पनि हर समय माटो मै लुटपुटिन पाए दंग पर्ने यी कृषकहरुको महत्व र उनिहरुको आवस्यकतालाई हामी बुझ्न सक्दैनौं ।
नेपाल कृषि प्रधान देश हो भनेर हामी सानैदेखि पढ्दै आइरहेका छौं ।
वास्तवमा संसारका अन्य भन्दा महत्वपूर्ण यो पेशालाई हामीले इज्जत दिन सकेका छौं? उनिहरुको आवस्यकतालाई सम्बन्धित निकायले सुनुवाइ गरेको छ? आज सातौ राष्ट्रिय कृषक दिवस मनाइरहँदा यस्ता कुराले हामीलाई कत्तीको छोएको छ?
हरेक वर्ष जेठ २७ गते देशभरका कृषकहरुको सम्मानको लागि भन्दै राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ । आजको दिन कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।
बि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो दिवसका अवसरमा विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गर्ने गरिएको छ।
तर के कृषकलाई सम्मान चाहिएको हो? एक दिनको सम्मानले बर्षभरी उनिहरुले गर्ने खेतीमा आइ पर्ने चुनौती सम्बोधन हुन सक्छ? नेपाल जस्तो विकास उन्मुख देशमा कृषकहरुले थुप्रै चुनौतीहरुको सामना गर्नु परिरहेको छ ।
समयमा मल, बीउ नपाउने, उचित सिँचाईको व्यवस्था नहुँदा भोग्ने कठिनाई जस्ता कुराको समाधान कैले र कसले सोचिदिने ?
मल र बिउका लागि घण्टौं कुर्दा पनि आवस्यकता अनुसार नपाउने समस्या, कहिले सिंचाइको अभाव त कहिले अति वर्षाका कारण लगाएको बाली नष्ट हुने समस्या, फेरी उत्पादित बालीको उचित बजार नपाउनु कृषकका लागि दुर्भाग्य बनिरहेको छ ।
बिचौलियाहरुको कारण कृषिकार्यमा लागेका धेरै कृषकहरुले पसिनाको मुल्य समेत पाइरहेका छैनन्। यद्यपी पछिल्लो समय नेपाल सरकारले कृषि क्षेत्रमा देखाएको चासोले कृषकका समस्या र चुनौतीलाई समाधानको बाटो दिनेछ भन्ने आशा पलाएको छ ।
कृषि कमजोर पेशा हैन, समस्याका बाबजुद पनि कृषिलाई अङ्गालेर आफ्नो परिवारको आर्थिक अवस्था मजबुत बनाएका उदाहरणहरु पनि छन् ।
तर यसलाई व्यवस्थित गर्न सके, उत्कृष्ट भनेर दिवसको दिन सम्मान थाप्ने केहि कृषकको अनुहारको एक दिनको खुसि भन्दा, व्यवस्थित र सुरक्षित पेशाका रुपमा यो पेशालाई अङगालेर वर्षभरी माटो मै रमाउने कृषकको अनुहार देख्न पाए !
त्यसैले कृषि पेशाको सम्मान र कृषकलाई प्रोत्साहन गरौ। आउदा पुस्तालाई कृषिको महत्व र यसको आवश्यकता बुझाऊ । राष्ट्रिय कृषक दिवसको सबैमा शुभकामना।