आफ्नै पसल चोरी गरी चोर खोज्न प्रहरीलाई निवेदन दिने घिमिरे प्रहरीको फन्दामा
हेटौडाको पारिजातपथमा रहेको आफ्नो पसल आफैले चोरी गरी चोर पत्ता लगाइ कार्वाही गरी पाउन भनि निवेदन दिने एक जना प्रहरीको फन्दामा परेका छन् ।
झुटो निवेदन दिने घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै सञ्चालक घिमिरेलाई सार्वजनिक गरिएको हो ।
घिमिरेले गत जेठ ११ गते पसल बन्द भएको अवस्थामा पसलबाट ३ लाख १२ हजार नगद सहित ३२ लाख ९३ हजार २ सय ८४ रुपैँया बराबरको इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक सामग्रीहरु चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
उजुरी पश्चात डिएसपी यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरि अनुसन्धान अघि बढाइको थियो ।
एक हप्ता नवित्दै भट्टराईको नेतृत्वमा अनुसन्धान टोलीले घिमिरे स्वयमले सामान लुकाएर चोरी भएको नाटक गरेको पत्ता लगाएको र घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले व्यक्तिगत फाइदाको लागि पसल चोरी भएको भ्रम फैलाएको पाइएको हो ।
अनुसन्धान टोलीका संयोजक डिएसपी भट्टराइले संचालक घिमिरेले बैंकमा भएको ५० लाख रुपैया ऋण तिर्न र इन्सोरन्स क्लेम गर्न आफैले सामान लुकाएर चोरीको नाटक रचेको बताउनुभयो ।
प्रहरीले घिमिरेले चोरी गरेको सामन हेटौँडा ४ पारिजातपथमा एक घरबाट बरामद समेत गरेको छ । उनलाई म्याद थप गरि कानुन बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ ।