मकवानपुर गोल्डकपः थ्री स्टारको जीतसंगै सेमिफाइनल समिकरण पुरा
हेटौंडामा जारी दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकपको आजको अन्तिम क्वाटरफाइनल खेल जित्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा सरस्वती क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जीतका लागि पहिलो हाफको २५ औं मिनेटमा बिदेशी खेलाडी मान्सा बिभोगुइले गोल गरेका थिए ।
यस्तै खेलको ६० औं मिनेटमा पिटर सेगुनले गोल गर्दै जीत सुनिश्चित गरेका थिए । आजको खेलको म्यान अफ द म्याच थ्री स्टारका पिटर सेगुन भएका छन् । उनले १० हजार नगद समेत प्राप्त गरेका छन् । थ्री स्टारको जीतसंगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
खेल सुरु भए लगतै थ्रीस्टारका अजय मार्टिनस् लडेर घाइते भएका थिए । उनलाइ तत्काल उपचारको लागि अस्पताल लगिएको थियो ।
सेमिफाइनलमा थ्री स्टारले बिदेशी क्लब दाफिन्ससंग प्रतिस्पर्धा गर्नेछ ।
भोली हुने पहिलो सेमिफाइनलमा आयोजक मकवानपुर ११ र नेपाल पुलिस क्लब बीच दिउसो साढे ३ बजे प्रतिस्पर्धा हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगितालाई भुगर्भ सिमेन्टले प्रायोजन गरेको छ ।