पत्रकार माझ प्रिय र नागरिकको नजरमा उत्कृष्ट प्रहरी निरिक्षक थापाको दंगा नियन्त्रण कार्यलय त्रिपुरेश्वरमा सरुवा
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दुई वर्षदेखि कार्यरत प्रहरी निरिक्षक मधुकुमार थापाको सरुवा भएको छ ।
मकवानपुरमा रहेर उत्कृष्ट काम गर्दै नागरिकको मन जितेका थापाको काठमाण्डौँ स्थित दंगा नियन्त्रण कार्यलय त्रिपुरेश्वरमा सरुवा भएको हो । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकारसंग भएको भेटमा निरीक्षक थापाले मकवानपुरबाट धेरै अनुभव र माया सङ्गालेर बिदा भएको भन्दै सेवाका क्रममा जहाँ रहे पनि यहाँका नागरिकको मायालाई सदैव कदर गर्ने बताउनुभयो ।
मकवानपुरका पत्रकारबाट पनि धेरै माया र साथ पाएको भन्दै उहाँले मकवानपुरे पत्रकारीताको खुलेर प्रशंसा गर्नुभयो । गत पुस २५ गते हत्या गरीएका संचारीकर्मी एवं शिक्षक मनोहर ढकालका हत्यारा पत्ता लगाउन सफल भएदेखि थापा झनै पत्रकार माझ प्रिय र नागरिकको नजरमा उत्कृष्ट प्रहरी निरिक्षकका रुपमा चिनिनुहुन्थ्यो ।
मकवानपुर जिल्लामा हुने विभिन्न खाले आपराधिक कार्य न्यूनिकरण गर्न अहोरात्र खटिने प्रहरी निरिक्षक थापा प्रदेश ३ प्रहरी कार्यालय हेटौडाबाट गत वर्ष र यस वर्ष गरी दुइ पटक उत्कृष्ट प्रहरीको सम्मानबाट सम्मानित हुनु भएको थियो भने मध्यक्षेत्रीय प्रहरी कार्यालयमा रहँदा उत्कृष्ट प्रहरीको अबार्ड प्राप्त गर्नुभएको थियो ।