युनिक सोपका ६४ मजदुर १०३ दिनदेखि आन्दोलनमा
हेटौडाको औद्योगिक क्षेत्रमा रहेको युनिक सोप एण्ड केमिकल उद्योगमा कार्यरत ६४ जना श्रमिकहरु उद्योग अगाडीको गेटमा त्रिपाल मुनि कानुनी हड्ताल लेखिएको व्यानर सहित बसिरहेका छन् । सो हड्ताल आज १०३ औं दिनमा प्रवेश गरेको छ ।
आर्थिक, विदा, स्वास्थ्य, बोनस तथा मेसिन मर्मतसहितको माग राख्दै उक्त हड्ताल गरिएको उक्त उद्योग स्थित अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई समितिका प्रतिनिधिले जानकारी दिएका छन् । उद्योगमा कार्यरत मजदुरहरुले प्रत्येक दुई/दुई वर्षमा राख्न पाउने मजदुरका सुविधाहरुको विषयमा उद्योग व्यवस्थापनले वास्ता नगरेकोले यो अवस्था सम्म आइपुगेको मजदुर संघ ईकाई समितिका अध्यक्ष कल्याण बस्नेतले जानकारी दिए ।
लामो समय उद्योग बन्द हुँदा मजदुरको रोजीरोटीमा समस्या आएकोप्रति उद्योग व्यवस्थापनले वास्ता नगरेको भन्दै सो उद्योगमा कार्यरत श्रमिकहरुले आक्रोस पोखेका छन् ।
सो उद्योग व्यवस्थापन मध्यका एक नवराज अर्यालसँग यो बारे जिज्ञासा राख्दा उनले उद्योगले युनिलिभरको निम्ति उत्पादन गर्दै आएकोमा युनिलिभरसँगको सम्झौता सकिएकोले अब उद्योग बन्द गर्ने प्रक्रियामा रहेको बताए । यसबारे सबैलाई जानकारी दिइसकिएको समेत उनको भनाई थियो । युनिलिभरसँग १० वर्षको सम्झौता भएकोले उक्त समय सकिएको २ वर्ष भइसकेको भन्दै अर्यालले राज्यले निर्धारण गरेको भन्दा बढी सेवा सुविधा दिन नसक्ने बताए ।
एक दशक भन्दा बढी समय उक्त उद्योगमा काम गरिसकेका मजदुरहरुलाई उद्योग व्यवस्थापनले कुनै मूल्य नै नदिएको भन्दै मजदुरहरुले प्रत्येक २÷२ वर्षमा पाउनुपर्ने सुविधाको विषयमा कुरा उठाउदा उद्योग बन्द नै गर्नुपर्ने अवस्था शंकास्पद भएको अखिल नेपाल औद्योगिक मजदुर संघका जिल्ला अध्यक्ष हेम न्यौपानेको आरोप छ ।
उनले उद्योग र युनिलिभर बीचको सम्झौता सकिन एक वर्ष अगाडी नै मजदुरहरुलाई जानकारी दिनुपर्नेमा त्यो नगरेको पाइएको बताए । पटक पटक वार्तामा बोलाउदा समेत युनिलिभर नआएको भन्दै उनले उद्योग संचालन गर्न र श्रमिकहरुको माग पुरा गर्न सबै पक्ष सकारात्मक ढंगले लाग्नुपर्ने बताए । पहिलो समाचारबाट