मकवानपुरको मनहरी ४ मसिनेमा वडा सम्बाद

छहारी संवाददाता
माघ २०, २०७५

मनहरी गाउँपालिका ४ मसिनेमा वडा सम्बाद कार्यक्रम भएको छ ।

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यमा भएको वडा सम्बाद कार्यक्रममा स्थानीय महिला, युवा तथा किशोरीहरुले स्थानीय सवालको बारेमा प्रश्न गरेका थिए ।

स्थानीय पशुपति माध्यमिक विद्यालयको शैक्षिक अवस्था, स्थानीय सडक, कृषि, स्वास्थको स्तरोन्नति, सिमान्तकृत समुदायको हकअधिकारको बारेमा छलफल गरिएको थियो ।  आमसमुदायमा शिक्षा, स्वाथ्यको सहज पहुँच कमजोर भएको सहभागीले बताएका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले समस्यालाई न्यूनिकरण गर्न र शिक्षामा पहुँच बढाउनको लागि स्थानिय अभिभवकलाई सचेतना कार्यक्रम, निःशुल्क शिक्षा, बिद्यालय एकीकरण, बिद्यालय बसको ब्यवस्थापन जस्ता प्रक्रियाको लागि गाउँ शिक्षा समितिले अध्यायन सुरु गरेको बताईन् ।

मनहरी ४ का वडा अध्यक्ष ध्रुब खड्काले ऐलानी जग्गामा बसेका नागरिकको बेरोजगारी समस्या, गरिबिको समस्या, पर्सा बन्यजन्तु आरक्षको कारण भोग्नु परेको समस्याले स्थानियहरु आजित भएको बताए । उनले बालबालिका कुपोषणको समस्या बढी रहेको पनि बताए । स्कुलको पहुँच सहज नभएका कारण बालबालिकाहरु स्कुल छोडेर गलैंचा बुन्न जाने गरेको र त्यहा कामको शिलशिलामा विभिन्न प्रकारको हिंसाको सिकार हुने गरेको उनले बताए ।

वडाले खानेपानीको समस्या समाधान गर्नको लागि मुख्य प्राथमिकता दिएको वडा अध्यक्ष खड्काले बताए । उनको अनुसार वडामा २ स्थानमा खानेपानीको लागि बोरिङ गरिसकिएको छ । यसैगरी बिद्युतको लागी यसबर्ष १६ लाख बिनियोजन गरिसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*