नेपाली क्रिकेट टोलीलद्धारा पहिलो अभ्यास खेलमा २ सय ४३ रनको सानदार जित
इंग्ल्याण्डमा रहेको नेपाली क्रिकेट टोलीले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेलमा २ सय ४३ रनको सानदार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले सानदार जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको १ सय ६१ रनको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो ।
१ सय ६ बलमा १ सय ६१ रन बनाउने क्रममा पारसले ७ छक्का र १९ चौका प्रहार गरेका थिए ।
नेपालका ललितसिंह राजवंशीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।
नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक क्रिकेट खेल्न इंग्ल्याण्डमा रहेको नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी –ट्वेन्टी खेल्नेछ ।
यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्डसमा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।
नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डस्मा हुने त्रिकोणात्मक शृंखला जुलाई २९ तारिखमा हुनेछ ।