करीब १५ दिन पछि ३ नम्बर प्रदेशसभा बैठक बस्दै
तीन नम्बर प्रदेशसभा बैठक आज बस्दैछ । करीब १५ दिन पछि बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुनेछ ।
प्रतिवेदन आज पेस भए पनि निर्णयार्थ प्रस्तुत गर्न भने केही समय लाग्ने छ । गत जेठ २६ गते समितिका सभापति दीपक निरौलाले सभामुख सभामुख सानुकुमार श्रेष्ठललाई प्रतिवेदन बुझाउनु भएको थियो ।
समितिले उक्त प्रतिवेदनमा प्रदेश राजधानीका लागि ५ जिल्ला काभ्रे, नुवाकोट, भक्तपुर, चितवन, र मकवानपुर सिफारिस गरेको छ ।
प्रतिवेदनमा जिल्लाको क्षेत्रफल, जनसंख्या, स्थानीय तहको संख्या, जिल्लागत दूरी, पूर्वाधारको अवस्था, सामाजिक सांस्कृतिक, वातावरणीय अवस्था विश्लेषण गरेर जिल्लाको स्थिति स्पष्ट उल्लेख गरिए पनि प्राथमिकता क्रम भने तोकिएको छैन ।
यता, समिति गठन गर्ने प्रदेशसभाको निर्णय विरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरे पनि प्रक्रिया नरोकिने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सानुकुमार श्रेष्ठले संविधानमा उल्लेख भएको अधिकार प्रयोग भएकाले कतै बाधा नपुग्ने बताउनु भएको छ ।