नौ विद्यार्थी संगठनद्धारा तीनदिने शैक्षिक हड्ताल फिर्ता
नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुले तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् ।
शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
बिभिन्न शैक्षिक मुद्दाहरु अघि सार्दै उनीहरुले यही असार २०, २१ र २२ गते देशव्यापी शैक्षिक संस्था बन्द आह्वान गरेका थिए ।
नौ विद्यार्थी संगठनमा आवद्ध रहेर संयुक्त रुपमा आन्दोलनरत गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले निजी विद्यालयहरुले बढाएको शुल्क एक महिनाभित्र फिर्ता वा समायोजन गर्नेलगायतका सहमति भएकाले आन्दोलन फिर्ता लिएको बताए ।
शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे टुंगिएको थियो ।