सुन तस्करी प्रकरणः छानविन समितिको म्याद पुनः एक महिना थप
साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद पुनः थपिएको छ ।
समितिको म्याद सकिएपछि पुनः एक महिनाका लागि थपिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक गत चैत २० गते गठन गरिएको समितिको म्याद बिहीबार सकिएको हो ।
तर उक्त समितिले सुन तस्करी प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहे पनि टुंगोमा पुर्याउन सकेको छैन । हराएको भनिएको साढे ३३ किलो सुन समेत कहाँ छ भन्ने कुरामा कुनै ठोस तथ्य सार्वजनिक हुन सकेको छैन ।
त्रिभुवन विमानस्थलबाट केही समयअघि साढे ३३ किलो सुन काठमाडौं भित्र्याउन मिलेमतो गर्ने केहिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
गृहमन्त्री रामबहादुर थापा भने यस प्रकरणलाई टुंगोमा पुर्याउनु पर्ने पक्षमा देखिए छन् । सोही कारण समितिको म्याद पुनः एक महिनाका लागि थपिएको छ ।
तर, यस प्रकरणलाई महाशाखाले नै उठान गरेकाले उसैलाई जिम्मा दिएर टुंग्याइनु पर्ने पक्षमा केही गृह अधिकारीहरू देखिएका छन् ।