केही दिन अझै धमिलो वर्षाको सम्भावना, यस्तो पानी उपयोग नगर्न सल्लाह

छहारी संवाददाता
असार ३, २०७५

आकाशबाट अझै केही दिन धमिलो पानी पर्ने मौसमविदले बताएका छन् । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो आँधीका कणहरू नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक÷दुई दिन यस्तै वर्षा हुन सक्न मौसमविद् अर्यालको भनाइ छ । “धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ । यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।

मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो । धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन् ।

काठमाडौं सहित कतिपय ठाउँमा आकासे पानी संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गरिने गरिएको छ । मौसमविद् अर्यालले यदि घरेलु उपयोगका लागि पानी संकलन गरीएको भए एकरदुई दिनको पानी संकलन नगर्न र कुनै पनि प्रयोजनका लागि उपयोग नगर्न आग्रह गर्नुभयो ।

धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकाले त्यस्तो पानी उपयोग नगर्न उहाँको सुझाव छ ।

यस्तै डाक्टरहरुले पनि यस्तो पानी उपयोग नगर्न सुझाव दिएका छन् । अत्यधिक फोहोर र धुलो भएका कारण आकाशबाट परेको पानीले स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग नगर्न डाक्टरले सुझाव दिएका हुन् ।

पानीमा विभिन्न रोगका किटाणु समेत हुनसक्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । यस्तो पानी प्रयोग गर्दा शरीरमा एलर्जी हुने र झाडापखाला लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*