उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीबारे आफ्नो आधिकारीक जानकारी मात्र विश्वास गर्न अस्पताल र परिवारको आग्रह,
प्रोफेसर तथा बरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीबारे न्युरो अस्पताल र परिवारले दिएको आधिकारिक जानकारीबाहेक अन्य सूचनालाई विश्वास नगर्न परिवारले आग्रह गरेका छन् ।
शुक्रबारदेखि सामाजिक सञ्जालहरुमा देवकोटाको निधनको खबर बाहिर आएपछि अस्पताल र देवकोटाको परिवारले शनिबार बिहान संयुक्त विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालको सुचनालाई विश्वास नगर्न आग्रह गरेका हुन् ।
डा। देवकोटाको स्वास्थ्य स्थितीको बारेमा चिन्ता र चासो व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै अस्पताल र परिवारले देवकोटाको स्वास्थ्य अवस्था गम्भिर रहेकाले सघन उपचार भइरहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
देवकोटालाई आज बिहान केहीबेर अस्पताल परिसर बाहिर घाममा निकालिएको थियो । स्वास्थ्यमा सामान्य सुधार देखिएपछि गएराति भेन्टिलेटरबाट निकालिएका उनलाई आज बिहान घाममा राख्न उपचारकक्षबाट बाहिर ल्याइएको थियो ।
करिब आधा घण्टाजति उनलाई बिहानको कलिलो घाममा राखिएको थियो । त्यसक्रममा थुप्रै शुभेच्छुकले टाढैबाट श्रद्धा व्यक्त गर्दै डा। देवकोटालाई स्वास्थ्यको कामना गरे ।
यसैबीच, नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट देवकोटालाई सम्मान गरेको छ ।
उपचारत डा देवकोटालाई आज अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।
सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइ एम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिनु भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईं लगायत न्युरो सर्जन सहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेको थियो ।