म्याच फिक्सिङको आरोप लागेका ६ जनाले पाए सफाई
म्याच फिक्सिङको आरोप लागेका सागर थापा सहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोद कुमार श्रेष्ठ बैद्य र नारायण प्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।
राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाएका हुन् ।
उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।
फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए भने २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटे । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।
नेपालले २००८ देखि खेलेका अन्तर्रा्ष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए । फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो । अनलाइनखबर