७५ करोड भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काद्धारा पदबाट राजीनामा
जग्गा खरिदमा करोडौं रकम घोटाला गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
खड्काले उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा आज राजीनामा पत्र बुझाएका हुन् ।
निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो । लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाए ।
कार्यकाल ६ महिना बाँकी छँदै खड्काले राजीनामा दिएका हुन् । निगममा छँदा उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि खड्का मन्त्रालय तानिएका थिए । मन्त्रालयमा भने उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।
आयल निगमका लागि तेल भण्डारण गर्न खरिद गरिएको जग्गामा तत्कालीन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयले अनियमितता भएको बताएका थिए । जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको उनीमाथि लागेको थियो ।