राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ ।
साझ ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको परिवारले जनाएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत घिमिरेलाई भारतको मेदान्त अस्पताल लैजान लागिएको हो ।
घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको सल्लाहमा उहाँलाई थप उपचारका लागि भारत लैजान लागिएको हो । गएको वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो ।
उहाँको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताउनुभयो ।
उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालमा छैन ।
घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लैजाने र घर फर्काउने क्रम चलिरहेको छ ।