यमनको राष्ट्रपति कार्यालयमा विस्फोटन, ६ जनाको मृत्यु, भत्किएको ठाँउमा धेरै जना पुरिएको आशंका
यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।
यमनी विद्रोहीहरुको नियन्त्रण रहेको स्थानमा भएका दुई हवाई हमलामा ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारसंस्थाहरुले जनाएका छन् ।
राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठूला शक्तिशाली विस्फोटन भएको स्थानीयको भनाइ छ ।
विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।
बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको आशंका गरिएको छ । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेना बीच सन् २०१५ देखि युद्ध चलिरहेको छ ।
एजेन्सी