लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन,विभिन्न देशका प्रतिनिधि सहभागी हुने

छहारी संवाददाता
बैशाख १५, २०७५

२५६२औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।बौद्ध सम्मेलनमा भाग लिन विभिन्न देशका बौद्ध विद्वान लुम्बिनी आइपुगेको लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए ।

सम्मेलनमा १६ जना राष्ट्रिय र १६ अन्तर्राष्ट्रिय गरी ३२ जनाले १३ ओटा विभिन्न उपशीर्षकमा बौद्धसँग सम्बन्धित कार्यपत्र प्रस्तुत् गर्ने तयारी छ ।सम्मेलनपछि प्रस्तुत् कार्यपत्रहरुको निष्कर्षका आधारमा आइतबार लुम्बिनी सम्मेलन घोषणापत्र जारी गरिने जनाइएको छ ।बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिकस्थल र बुद्धको शिक्षालाई प्रचार–प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सद्भाव बढाउनेलगायत उद्देश्यले सम्मेलन आयोजना गरिएको कोषका उपाध्यक्ष अवेधशकुमार त्रिपाठीले बताए ।

सम्मेलन र बुद्धजयन्तीको कार्यक्रम आयोजना गर्नका लागि कोषको आन्तरिक बजेटबाट ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सम्मेलनमा अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायतका देशका प्रतिनिधि सहभागी हुनेछन् ।सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*