नेपालतर्फ पेट्रोलियम पाइपलाइनको काम औपचारिक रुपमा सुरु, १५ महिनामै निर्माण सक्ने लक्ष्य

छहारी संवाददाता
बैशाख ५, २०७५

निकै चर्चामा रहेको अमलेखगञ्ज रक्सौल मोतिहारी पेट्रोलियम पाइपलाइनको काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ । यो परियोजना अन्तर्गत नेपालतर्फ पनि पाइप राख्ने काम सुरु भएको हो ।

मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नेपालतर्फ पाइप बिछ्याएको ठाउँमा माटोले पुरेर परियोजनाको सुरुवात गरे ।

पथलैया भन्दा पाँच सय मिटर दक्षिणमा पाइप राख्न सुरु गरिएको थियो। पाँच सय मिटर पाइप बिछ्याएर पुर्ने काम समेत भइसकेकको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला यो परियोजना शिलन्यास गरिएको थियो। ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाटै संयुक्त रुपमा परियोजनाको शिलन्यास गरेका थिए।

भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म पाइप विछ्याउने काम सुरु भइसकेको छ ।

नेपाल आयल निगम अमलेखगंज डिपोका क्षेत्रीय प्रबन्धक तथा मोतिहारी–अमलेखगंज पाइपलाइनका परियोजना प्रमुख प्रदीपकुमार यादवका अनुसार सबै सरकारी निकायको सहयोग भएमा १५ महिनामै परियोजनाको निर्माण सकिनेछ ।

पाइप गाड्ने काम हैदरावादको लिखिता इन्फ्रास्ट्रक्चर सिमलेश कम्पनीले गरिरहेको छ ।

अमलेखगंजदेखि रक्सौल सम्म ३६ दशमलव २ र रक्सौल देखि मोतिहारी सम्म ३२ किलोमिटरमा पाइपलाइन निर्माण हुनेछ ।

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतीहारी बजार क्षेत्रको ११ किलोमिटर उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल प्वाइन्ट निर्माण गरी अमलेखगंजसम्म पाइपलाइन मार्फत् इन्धन ल्याउने योजना छ।
पाइपलाइन रक्सौलदेखि रजतजयन्ती चोक सडकको पूर्वपट्टिबाट निर्माण हुनेछ। रजतजयन्तीदेखि परवानीपुर बाइपास सडक हुँदै अमलेखगंजसम्म सडकको पश्चिमबाट पाइपलाइन ल्याइनेछ।
पहिलो पोस्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*