प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन तयारी पुरा
काठमाण्डौ जिल्ला भारोत्तोलन संघले “ प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
प्रथम सुनिलला जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागेको हो ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगिता बुधबार देखि दुई दिन चैत्र २८ र २९ गते सम्म ललितपुरस्थित स्पोर्ट्स हाईव, झम्सिखेलमा संचालन हुने आयोजकले जनाएका छन् ।
युवाहरुमा पावर गेम प्रतिको आकर्षणलाई ध्यान दिंदै खेलाडीहरुको उत्पादन थलो ब्यायामशाला, जिम तथा क्लबहरुलाई प्रतियोगिता मार्फत समेट्दै खेलाडीहरुको संख्यात्मक र गुणात्मक संख्यामा अभिबृद्धि गर्नुका साथै प्रतिभावान, क्षमतावान खेलाडीहरुलाई यस प्रतियोगिता मार्फत उजागार गराई राष्ट्रिय टिममा समावेश गर्नु यस प्रतियोगिताको मुख्य उद्धेश्य रहेको संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले बताए ।
१८औं एशियन गेमको प्रारम्भिक चरणको खेलाडी छनौट तथा १३ औं दक्षिण एशियाली खेलको प्रथम चरणको खेलाडी छनोट समेत रहेको प्रतियोगितामा सिनियर र जुनियरमा पुरुष तर्फ ५६, ६२, ६०, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी र महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजी माथीको तौल समूहमा १०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अशोक फिटनेश ईक्विपमेण्ट, बानेश्वर र हेल्थ ट्रयाक फिटनेश ईक्विपमेण्ट मुख्य प्रायोजक रहेको प्रतियोगितामा उपत्यकाका ९ क्लब तथा ब्यायामशालाको सहभागिता रहने छ । जसमा नेपालमा पहिलो शारिरीक सुगठनका खेलाडी उत्पादन गर्ने ब्यायामशाला नेपाल ब्यायाम मन्दिर, ज्याठाको पनि सहभागिता रहने भएको छ ।
यसका साथै उपत्यका बाहिरका विभिन्न जिल्लाबाट १४ क्लब तथा ब्यायामशाला, त्रिभुवन आर्मी क्लब, पुलिस क्लब र एपिएफ क्लबको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष शाहले बताए ।
प्रतियोगितामा सिनियर तर्फका महिला/पुरुष उत्कृष्ट भारोत्तोलक र स्ट्रङ्गेष्ट खेलाडी तथा जुनियर तर्फ महिला/पुरुष उदियमान र उत्कृष्ट भारोत्तोलक खेलाडीलाई पुरस्कृत गरिने छ ।
यस्तै नयाँ किर्तिमान कायम गर्ने खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मानित गरिने समेत अध्यक्ष शाहले बताए ।
उपत्यका बाहिरबाट आउने खेलाडीहरुका लागि खाने, बस्ने ब्यबस्था बाबा गेष्ट हाउस, कलङकीले गर्ने र एक तर्फी सवारी भाडा आयोजकले ब्यहोर्ने छ ।