मोरङ उर्लाबारीका सनम शाक्यको हत्या जोडिएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पास भएको खुलेको छ ।
तस्करीमा सघाएको आरोपमा प्रहरीले थाई एयरलाइन्सका ८ कर्मचारीलाई पक्राउ गरेको छ ।
गत फागुन १८ गते तस्करीको सुन लुकाएको आरोपमा तस्करहरुले शाक्यलाई करेन्ट लगाएर हत्या गरेका थिए ।
सो घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ ।
साथै, विमानस्थलबाट तस्करीमा सघाएको आशंकामा प्रहरी र भन्सार कर्मचारीमाथि समेत छानबिन सुरु भएको छ ।
लुकाइएको भनिएको ३३ किलो सुन हालसम्म बरामद भएको छैन। तर, उक्त सुन विमानस्थलबाटै पास भएको पुष्टि भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, माघ ७ गते थाई एयरलाइन्सका कर्मचारी बालकृष्ण श्रेष्ठले उक्त सुन विमानस्थलबाट पास गराइदिएका थिए ।
श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका थाई एयरलाइन्सका अन्य कर्मचारीको नाम गोप्य राखिएको छ ।
‘पटक-पटक सो समूहले विमानस्थलबाट सुन तस्करी गर्दै आएको हाम्रो अनुसन्धानमा खुलेको छ’, गृहका एक अधिकारीले भने, ‘सोही आधारमा गृहमन्त्रीज्यूले एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको बताउनुभएको हो, हचुवाको भरमा होइन ।’
गृहमन्त्री रामबहादुर थापाले गत सोमबार गृहमा आयोजित कार्यक्रममा विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए ।
महानगरीय अपराध महाशाखाले फागुन १९ गते गाडीमा शाक्यको शव बरामद गरेपछि हत्यामा संलग्न भएको आरोपमा टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो ।
त्यसपछि महाशाखाले हत्याका मुख्य योजनाकारहरु पक्राउ गर्न चासो नदिएपछि शंका बढ्दै गएको थियो ।
पक्राउ परेकामध्ये केही उल्टै पीडित भएको र उनीहरुलाई समेत यातना दिइएको खुलेको छ । उनीहरुकै उजुरीका आधारमा घटना बाहिर आएको हो ।
लुकाएको सुनबारे बकाउन तस्कर समूहले शाक्यलाई करेन्ट लगाएका थिए । धेरै करेन्ट लगाउँदा उनको मृत्यु भएको थियो ।
मृत्यु भएपछि आफूहरु नफस्नेगरी घटनाको ‘सेटल’ गराउन सो समूहले अपराध महाशाखाका प्रहरीलाई सूचना दिएर अनुसन्धानलाई प्रभावित बनाउन सफल भएका थिए ।
अनुसन्धानमा चरम लापरवाही गरेको र मुख्य योजनाकारलाई भगाएको आरोपमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाइसकिएको छ ।
सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती (गोरे)सँग सई सञ्जेलको पुरानो चिनजान थियो । सहसचिव ईश्वरचन्द्र पौडेल संयोजकत्वको छानबिन समितिसँगको बयानमा सञ्जेलले चिनजान रहेको स्वीकार गरेका छन् ।
प्रहरीले हराएको भनिएको ३३ किलो सुन तस्करीमा लगानी गर्ने राप्रपाका नेता भुजुङ गुरुङलाई पक्राउ गरिसकेको छ। मुख्य नाइके उप्रेती अझैसम्म फरार छन् ।
२०७३ पुसमा पनि सिआइबीले विमानस्थलबाट पास भएको साढे ३३ किलो सुन बरामद गरेको थियो। सो प्रकरणमा विमानस्थलका प्रहरी र भन्सार कर्मचारी समेत पक्राउ परेका थिए ।
अहिलेको घटनाले फेरि पनि विमानस्थलबाट सेटिङमै सुन तस्करी भइरहेको खुलेको छ ।
नेपाललाइभबाट साभार