बलात्कारीलाई मृत्युदण्ड देउ सरकार ..
राजनीतिमा क्रियाशिल महिलाहरुले मानवता विरोधी जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई मृत्युदण्ड दिने कानून बनाउन सरकासँग माग गरेका छन् ।
विभिन्न आठ राजनीतिक दलमा संलग्न महिलाहरुले पत्रकार सम्मेलन गरेर महिला तथा बालबालिका माथि बलात्कार तथा अन्य जघन्य प्रकारका अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय दिने कानूनी व्यवस्था गर्न माग गरेका हुन् ।
‘हाल देशब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गईरहेका छन’ संयुक्त महिला संघर्ष समिति गठन गरेर उनीहरुले वक्तव्यमा भनेका छन्, ‘मानवअधिकार विरोधी महिला हिंसाका घटना रोक्न कानूनमा प्रयाप्त व्यवस्था गरी अपराधिहरुलाई मृत्यूदण्ड, आजीवन काराबास जस्ता कडा भन्दा कडा सजाय दिनु पर्दछ ।’
कडा कानूनी व्यवस्था भएमा महिला विरुद्ध हुने यस्ता हिंसा कम हुन सक्ने उनीहरुको धारणा छ ।
वक्तव्यमा अन्तर पार्टी महिला सञ्जाल, अखिल नेपाल महिला संघ, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), राष्ट्रिय महिला संघ, संघीय समाजवादी महिला फोरम, राष्टिय प्रजातान्त्रिक महिला संघ, अखिल नेपाल प्रगतिशिल महिला संघलगायतमा संलग्न महिलाहरुले हस्ताक्षर गरेका छन् ।
महिला खबरबाट साभार