भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुनेछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने बताएका छन् ।
आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँग शंका रहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् ।
विदेश नीतिको प्रस्थानविन्दु मित्रता भएको बताउँदै उनले मित्रता सम्बन्ध समानता र हअस्तक्षेपका आधारमा हुने बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई, भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने तर्फ केन्द्रित हुने बताए ।
उनले कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्ने बताएका छन् । जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनको भनाइ थियो ।
भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमण क्रममा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।
आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायज चासोलाई सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी गराएका थिए ।