पत्रकार महासंघ मकवानपुरले मनायो महासंघको ६३ औं स्थापना दिवस
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईले पत्रकारिताको दिगो विकास जरुरी रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा शुक्रबार हेटौँडामा आयोजित प्रभातफेरी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रभातफेरी पछि आयोजित कोणसभालाई संवोधन गर्दै अध्यक्ष हुँमागाईले सम्पूर्ण पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यले पत्रकारहरुले अझैपनि खुलेर कलम चलाउन सक्ने अवस्था नरहेको भन्दै राज्य जिम्मेवार नभएको बताए ।
यसैगरी पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणी दाहालले अझै मिडिया हाउसहरूमा श्रमजीवि पत्रकाहरुलाई समस्या रहेको र समाचारको कारणले पत्रकारहरूले दुर्व्यवहार सहनु परेको भन्दै पत्रकारलाई राज्यबाट उल्लेखीय सहयोग नभएको गुनासो गरे ।
हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचौक, उद्योग वाणिज्य चोक हुदै सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
पत्रकार महासंघ मकवानपुर शाखाले आयोजनामा गरेको प्रभातफेरीमा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, सचिव गणेश दर्पण अधिकारीलगायत कार्य समिति सदस्यहरु तथा मकवानपुरमा क्रियाशिल पत्रकार सहित मकवानपुर बहुमुखी क्याम्पसमा आम सञ्चार तथा पत्रकारीता विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।