महिला ह्यान्डबल टोली च्याम्पियनसिप खेल्न भारत प्रस्थान, एथलेटिक्स टोली स्वदेश फर्कियो

छहारी संवाददाता
चैत्र १६, २०७४

दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार भारतको लखनउ प्रस्थान गरेको छ ।

मार्च ३१ र देखि अप्रिल ३ तारिखसम्म हुने प्रतियोगितामा १४ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सहभागी हुनेछ ।
विभागीय खेलाडीको बाहुल्य रहेको टोलीमा १२ खेलाडी विभागीय टोलीका छन् । बाँकी २ उदयपुर जिल्लाबाट रहेका छन् ।
नेपाली सेनाका मन्जु राउत, विष्णा बोगटी, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, दुर्गा बोहरा र कल्पना वली, एपीएफका उमा राई, बन्दना राई, पार्वती चौधरी, कविता राई, आइतलमु शेर्पा र संगीता चौधरी तथा उदयपुरका जिना राई र निशा राईले प्रतिस्पर्धा गर्नेछन् ।
व्यवस्थापकमा रामकृष्ण केसी, प्रशिक्षकमा अरुणलाल कर्ण र रमेश सापकोटा, अफिसियलमा रत्नज्योति मानन्धर र साजकुमार आले तथा निर्णायकमा प्रकाश सुनुवार र रन्जना राई छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

 

एथलेटिक्स टोली फर्कियो
दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी भइ नेपाली एथलेटिक्स टोली बिहीबार स्वदेश फर्किएको छ ।
मार्च २७ तारिखमा भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो । व्यक्तिगत स्पर्धामा विश्वरुपा बुढाले १ रजत जितिन् ।

विश्वरुपाले टिम स्पर्धामा पनि १ कांस्य जितिन् । विश्वरुपा सम्मिलित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको नेपाली टोलीले कांस्य जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।

व्यक्तिगत र टिम स्पर्धा दुवै ८ किलोमिटर दुरीमा प्रतिस्पर्धा भएको थियो । सानुमाया कार्की पदक जित्न असफल रहिन् ।
पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । उनीहरु पदकविहीन रहे ।

टिम प्रशिक्षकमा एथलेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ रहेका छन् । टोलीलाई एथलेटिक्स संघका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*