पत्रकार महासंघ मकवानपुरको पत्रकार उपचार कोषमा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालबाट २ लाख सहयोग
पत्रकार महासंघ मकवानपुरले सुरु गरेको पत्रकार उपचार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ । उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले आज महासंघका अध्यक्ष हरि हुमागाँईलाई दुई लाख रुपैँयाको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यसअघि पत्रकार महासंघ मकवानपुरको चैत्र १० गते सम्पन्न नियमित बैठकले पत्रकार उपचार कोषको स्थापना गरेको थियो । कोष स्थापना भएकै दिन अध्यक्ष हुमागाई र उपाध्यक्ष कुमार अधिकारी पोष्टराजले जनही ५–५ हजार रुपैया सहयोग गरेका थिए ।
आजको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै अर्यालले पत्रकार समस्यामा पर्दा, विरामी परेको अवस्थामा सहयोग होस भनि स्थापना भएको कोषलाई रकम दिन पाउदा आफु खुसीको कुरा भएको बताए । आफ्नो जन्मदिनको अवसरमा अर्यालले आमाबुबा र सासु ससुरुराको नाममा रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईले पत्रकार महासंघलाई अर्यालले गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताए । उनले कोष सञ्चालनले पछिल्ला पिढिहरुलाई समेत फाईदा पुग्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, क्रान्तिकारी पत्रकार संगठनका सचिव राज सापकोटा, चलचित्र पत्रकार संघका अध्यक्ष मणीराज गौतम लगाएतको उपस्थिती रहेको थियो ।
आगामी दिनहरुमा पनि पत्रकार महासंघ मकवानपुरमा आबद्ध रहनुभएका पत्रकार, बिभिन्न सञ्चार संस्था, अरु शुभेच्छुक ब्यक्ति र संस्थासंग रकम संकलन गरेर उपचार कोषमा रकम बृद्धि गरिने छ । कोषमा जम्मा भएको रकम के कसरी गम्भीर खालका बिरामीलाई उपचारमा सहयोग गर्ने भन्ने बिषयको निर्णय भने महासंघ मकवानपुर शाखाको बैठकले गर्नेछ ।