दोश्रो खोटाङ हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २० गतेदेखि हुने
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो दिक्तेलको आयोजनामा दोश्रो खोटाङ हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली, आयोजक टिम, भारत, भुटान, श्रीलंका र बंगलादेशको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष सञ्जयकुमार राईले जनाएका छन् ।
कुमुते र कातामा १७ स्वर्ण, १७ रजत र ३४ कांस्य गरी जम्मा ६८ पदकका लागि करिब ३ सय १५ खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ ।
टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् ।
उत्कृष्ट मार्स पास्ट टिम, पुरुष÷महिला खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई २० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै अनुशासित पुरुष÷महिला खेलाडी र टिमलाई पनि २० हजार नगदबाट पुरस्कृत गरिने छ ।
दिक्तेलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४९ लाख ४० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । गत संस्करणमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब टिम च्याम्पियन बनेको थियो ।