छड्के’ जाँच गर्दा कार्य क्षेत्रमा नभेटिएका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा गृहमन्त्री रामबहादुर थापा बादलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । कसैलार्इ जानकारी नदिर्इ उनी एक्कासी विमानस्थलमा पुगेका थिए ।
गृहमन्त्री विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । गृहमन्त्रीले उनीहरू सबैलार्इ कारबाही गर्ने चेतावनी दिएका छन् ।
गृहमन्त्री अकस्मात छड्केमा आएको थाहा पाएपछि भने कर्मचारीको भागदौड मच्चिएको थियो । सबैले खाजा खान गएको बताएपछि उनले खाजा खाने समय १ देखि २ बजे हुनेमा यतिवेला किन कार्यकक्षमा नभएको भन्दै सबैलार्इ हप्काएका थिए ।
त्यसक्रममा उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरे । विमानस्थलमा दैनिक हजारौँले सास्ती व्यहोर्ने गरेको गुनासो आइरहेका वेला गृहमन्त्रीले छड्के जाँच गरेका हुन् । उनले तत्काल सेवाहरूमा सुधार गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री आज बिहानैदेखि निरीक्षणमा निस्किएका थिए । बिहान उनले केन्द्रीय कारागार र सदरखोर कारागारको अवलोकन निरीक्षण गरेका थिए ।
हिजो मात्रै प्रधानमन्त्री शर्माले सबै मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखलार्इ भेला गरी काममा प्रभावकारिता ल्याउन र एक एक मिनेटको सदुपयोग गर्न विशेष निर्देशन दिएका थिए ।