भुकम्पपीडित महिलाका लागि मकवानपुरमा सञ्चालित जिविकोपार्जन पुर्नउत्थान परियोजनाको समीक्षा
भुकम्पपीडित महिलाहरुको आर्थिक अवस्थालाई सबल बनाई जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यले सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजनाको समीक्षा गरिएको छ ।
नारीसिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित परियोजना सकिएसँगै आइतबार जिल्लाका सरोकारवालाको सहभागितामा समीक्षा गरिएको हो ।
सन् २०१७ अप्रिलबाट सुरु गरिएको परियोजनाको २०१८ मार्चसम्म भएका क्रियाकलापको सरकारी निकायका प्रतिनिधि तथा जनप्रनिधिसहितको टोलीले गत शुक्रबार अनुगमन गरेको थियो ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु, २ कुलेखानी, ३ सिस्नेरी, ४ र ५ फाखेल, थाहानगरपालिका वडा नम्बर ९ र १० चित्लाङ, भिमफेदी गाउँपालिका वडा नम्बर ९, कैलाश गाउँपालिका वडा नम्बर ९ र १० नामटार, वडा नम्बर ३ र ४ कालिकाटार, वडा नम्बर ७ र ८ भार्तामा परियोजना सञ्चालन गरेको थियो ।
परियोजना अन्तरगत खानेपानी, सिंचाई, तरकारी खेती, पशुपालन, माछापालन, विपद जोखिम न्यूनिकरण सम्बन्धी तालिम तथा सामग्री वितरण, कृषि औजार वितरण लगाएतका कार्यक्रमहरु गरिएको थियो ।
कार्यक्रममा परियोजनाको प्रगतिबारे फिल्ड संयोजक स्मृती सापकोटाले प्रस्तुतीकरण गरेकी थिइन् । दुई करोड ५१ लाख ७ सय ६७ रुपियाँ कुल बजेट रहेको परियोजनाको दुई करोड ३७ लाख ७५ हजार ९ सय ५२ रुपियाँ खर्च भएको जनाइएको छ ।
जिल्ला परियोजना सल्लाहकार समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा समन्वय समिति मकवानपुरकी उपाध्यक्ष भगवती पुडासैनी, मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकलगायतको आतिथ्यता रहेको थियो ।